वीरगंज । गर्मी घट्दा तातो हावा “लू” चल्ने क्रममासमेत कमी आएसँगै विद्यालयमा नियमित पठनपाठन सुरु गर्नुपर्ने नेशनल प्याब्सन पर्साले माग गरेको छ । विद्यार्थीको स्वास्थ्यमा असर नपर्ने किसिमको अनुकूल मौसम भएसँगै लामो समयदेखि गर्मीको बहानामा बन्द रहेको वीरगञ्जका सामुदायिक तथा संस्थागत (निजी) विद्यालय नियमित रुपमा सूचारु गर्नुपर्ने राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) पर्साले माग गरेको हो । नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठले मङ्गलबार वर्षात भएपछि मौसम अनुकूल हुँदै गएको भन्दै छिटोभन्दा छिटो पुन: विद्यालय खोलेर नियमित पठनपाठन सूचारु गराउनुपर्ने बताए । ‘अहिले अस्तिको जस्तो घरबाट बाहिरै निस्किन नमिल्ने किसिमको गर्मी मौसम छैन । बिहानी कक्षा सञ्चालन गराउँदा विद्यार्थीको स्वास्थ्यमा असर पर्दैन,’ श्रेष्ठले यात्राडेलीलाई भने, ‘लामो समयसम्म विद्यालय बन्द रहँदा काममा जानुपर्ने अभिभावकलाई समेत समयसा भइरहेको छ ।’
गर्मी बढेसँगै जेठ १७ गतेदेखि २६ गतेसम्मका लागि वीरगञ्ज महानगरपालिकाले घोषणा गरेको गर्मी विदालाई दोस्रो पटकका लागि लम्ब्याएर असार १ गतेसम्म पुर्याएको छ । जसकारण वीरगञ्जकान सम्पूर्ण विद्यालय हाल १३ दिनदेखि बन्द छन् । छ्मेकी जिल्ला बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाले मौसम अनुकूल भएसँगै विद्यालयहरुलाई विहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएको बताउँदै एन्जल इन्टरनेशनल स्कूलका निर्देशकसमेत रहेका उनले थपे, ‘विदा धेरै लामो भयो, अझै लम्बिए कोर्स सकाउन हामीलाई अफ्ठ्यारो हुन्छ । त्रैमासिक परीक्षाको समयमा विदा भएको हुँदा धेरै स्कूलले परीक्षा पनि लिन पाएका छैनन् । कती त एक/दुइवटा परीक्षा लिएर विदा दिन बाध्य भए ।’
कलैया उपमहानगरपालिकाले एउटा सूचना जारी गर्दै मौसम अनुकूल हुँदै गएकोले जेठ ३२ गते बिहिबारदेखि बिहानको समयमा नियमित कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले पनि विद्यालय खोल्नुपर्ने माग अघि सारेको छ । प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तवले श्रेष्ठसँग सहमति जनाउँदै भने, ‘दिउँसोसम्म कक्षा सञ्चालन गर्न नसकिएपनि १० बजेसम्म अथवा टिफिनको समयसम्म पनि स्कूल खोल्न दिनुपर्यो । समयमै स्कूल खुलेन भने समयमा कोर्स सकाउन सक्दैनौं, अन्तिममा विद्यार्थीमाथि नै दवाव बढ्दै जान्छ ।’ विद्यार्थीका अभिभावकले पनि विद्यालय खोल्नुपर्ने बताएका छन् । वीरगञ्ज – १५ लक्षुमनवा निवासी कृष्ण ठाकुरले लामो समयसम्म स्कूल बन्द हुँदा बच्चाहरुको सिकाइमा असर परेको गुनासो गरे । ‘हामी श्रीमान्-श्रीमती काम गर्छौं, बच्चाहरु दिउँसो घरमा एक्लै हुन्छन् । पढ्न मान्दैनन् । सिकाइपनि छुटीरहेको छ,’ उनले भने, ‘अब मौसम ठिक भयो, कमसेकम मर्निङ क्लास चलाउनु पर्यो ।