कैलालीको अत्तरियाबाट सात किलो चरेशसहित चारजना पक्राउ
वीरगंज संजाल
२६ मंसिर २०७६, बिहीबार १४:३४
५२८१
काठमाडौं । कैलालीको अत्तरियाबाट सात किलो चरेशसहित चारजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान समूह (आरआइटी) को संयुक्त टोलीले अत्तरिया बजारबाट सात किलो चरेशसहित चार जनालाई पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका- २ मा पर्ने बजार क्षेत्रको एक घरबाट कोठामा लुकाएर राखिएको अवस्थामा सात किलो चरेशसहित चार जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिए ।
उनकाअनुसार प्रहरीले दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ घर भई अत्तरियामा डेरा गरी बस्दै आएका ३२ वर्षीय जसमलसिंह ठगुन्नाको कोठाबाट चरेश बरामद भएको हो ।
नायब उपरीक्षक बिष्टले ठगुन्नासँगै मार्मा गाउँपालिका- १ कै २५ वर्षीय उकिलसिंह ठगुन्ना, २७ वर्षीय जीवनसिंह ठगुन्ना र अपी–हिमाल गाउँपालिका– ४ का २४ वर्षीय हिक्मतसिंह धामीलाई पक्राउ गरिएको बताए । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।bahakhari