काठमाडौं । पछिल्लो दुई महिनामा अमेरिकामा तेस्रो बैंक टाँट पल्टिएको छ । अमेरिकाको फर्स्ट रिपब्लिक बैंक टाँट पल्टिएको हो । क्रिप्टोमा अत्याधिक लगानीका कारण संकटग्रस्त बनेको फर्स्ट रिपब्लिक बैंकको अमेरिकाको नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले स्वामित्व ग्रहण गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेपी मोर्गन फर्स्टले रिपब्लिक बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र र ९२ अर्ब अमेरिकी डलरको बचतको टेकओभर गरेको छ ।
मार्च महिनामै बचतकर्ताहरूले सन फ्रान्सिस्कोमा मुख्यालय रहेको फर्स्ट रिपब्लिक बैंकबाट १ खर्ब अमेरिकी डलर निकालेपछि त्यसको शेयर मूल्य ७५ प्रतिशतले घटेको थियो । यसअघि अमेरिकामै मार्च महिनामा मात्रै सिलिकन भ्याली र सिग्नेचर बैंक टाँट पल्टिएको थियो । यता फर्स्ट रिपब्लिक टाँट पल्टिएपछि अमेरिकाको फेरेडल रिजर्भले अमेरिकाको बैंकिङ प्रणाली निकै मजबुत र उत्थानशील रहेको पुनः दावी गरेको छ । बचतकर्ताहरूले रकम झिक्न थालेपछि रिजर्भले वित्तीय बजारलाई स्थायित्व दिन आपत्कालीन कदम चालेको छ ।
मार्चमा अमेरिकामा ठूला बैंकहरूको समूहले फर्स्ट रिपब्लिक बैंकलाई स्थायित्व दिनका लागि ३० अर्ब अमेरिकी डलर उपलब्ध गराएका थिए । रिपब्लिकन बैंक सन् १९८५ मा स्थापना भएको मध्यमस्तरको बैंक थियो ।