काठमाडौं | नेपाल प्रहरीले काठमाडौं र नवलपरासी (पूर्व)बाट ५ जनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ।काठमाडौं, नागार्जुन नगरपालिका-५ हलचोकबाट नियन्त्रित लागुऔषध डाइजेपाम २५ एम्पुल, नुर्फिन २५ एम्पुल, फेनारगन २५ एम्पुल र मोबाइल ४ थासहित सोही ठाउँ बस्ने काभ्रे भिमखुरी गाउँपालिका-२ घर भएका २७ वर्षीय गुन्जबहादुर तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
महानगरीय वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको थियो।यसैगरी काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–११ पैंयुटारबाट अवैध लागुऔषध ब्राउनसुगर २ ग्राम, नियन्त्रित लागुऔषध डाइजेपाम २२ एम्पुल, नुर्फिन २२ एम्पुल, फेनारगन २२ एम्पुल, ट्रामाडोल १ सय ५ ट्याब्लेट, सिरिन्ज २ थान, नगद १७ हजार ५ सय रुपैयाँ र मोबाइल ३ थानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-११ पैँयुटारमा डेरा गरी बस्ने रामेछाप घर भएका २७ वर्षीय मन्जिल राई र २४ वर्षीय अमृत श्रेष्ठ रहेका छन्। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।नवलपरासी(पूर्व) कावासोती नगरपालिका-१६ चालिसकिलो जङ्गलस्थित सडकबाट नियन्त्रित लागुऔषध डाइजेपाम १ सय २ एम्पुल, फेनारगन १ सय २ एम्पुल र नुर्फिन १ सय २ एम्पुलसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-४ बस्ने २६ वर्षीय विकास वर्मा र बर्दघाट नगरपालिका–१६ बस्ने २६ वर्षीय सुजन मल्ल रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बा३७प २६६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।घटनाहरूका सम्बन्धमा स्थानीय आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।