बाँके | विद्यार्थी र प्रहरीको झडपका कारण आइतबार दिनैभर तनाबग्रस्त बनेको बाँकेको कोहलपुर बजार क्षेत्र सामान्य बन्दै गएको छ ।सुरक्षाका कारण साेमबार १ दिनका लागि कोहलपुर बजार क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरिए पनि बिहानैदेखि कोहलपुर बजार क्षेत्रमा गाडी र मानिसको आवतजावत भइरहेको छ ।
आइतबार राती बसेको सर्बदलीय तथा सर्बपक्षीय बैठकले संयमित हुन स्थानीयसँग अनुरोध गर्दै घाइतेको उपचार, तोडफोड र आगजनीको क्षतिपूर्तीका लागि गृह मन्त्रालयसग सिफारिस गर्ने निर्णय गरेको छ ।त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएर घाइते बनाएको विरोधमा विद्यार्थीले प्रहरीमाथि ढुँगामुढा र लाठी प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको थियो ।
दिउँसो २ बजेदेखि कोहलपुरमा प्रहरीले माइक लगाएर कर्फ्यु जारी गरिएको बताउँदै स्थानीयलाई हिँडडुल गर्न र पसल खोल्न दिएको थिएन । गाडी पनि चलेका थिएनन् । कर्फ्यु अझै पनि कायमै रहेकाे छ । घाइते चन्दको काठमाडौमा उपचार भइरहेको छ । झडपमा घाइते भएकामध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौ ल्याउने तयारी भइरहेको छ ।