वीरगंज । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा गाई गोरु धमाधम बिरामी पर्न थालेपछि कृषक चिन्तित भएका छन्। पाखापानीका कृषकले पालेका गाई गोरुमा शरीरमा खटिरा, ज्वरो, खुट्टा र यौनांग सुन्निने, आँखाबाट पानी बगिरहने र अनुहार सुनिने लक्षण देखिएको हो। १० दिनअघि देखिएको यस्तो लक्षणबाट थलिएका औला गाउँमा ४ वटा गाईगोरु मरेका र अन्य पनि बिरामी पर्न थालेका पशु सेवा प्राविधिक सुविता पुनले बताइन्। स्थानीय स्तरमा गरिएको उपचार सफल नभएपछि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई जानकारी गराएको र नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको बताए।
औला र कोटगाउँमा पशुहरू बिरामी परेका हुन्। पाखापानी औलाका हुमबहादुर पुनले गाई र गोरुहरू बिरामी पर्ने क्रम बढेको बताए। एक, पछि अर्को गोठका पशु बिरामी पर्न र मर्न थालेपछि चिन्तित भएको अर्का कृषक लालमाया पुनले बताइन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले बिरामी पशुहरूको रगत र खटिराको नमुना संकलन गरेर परीक्षणका लागि पोखरा स्थित प्रयोगशालामा पठाइएको जानकारी दिए। ‘कृषकहरूले बताएको लक्षण अनुसार लम्की स्किनको शंका गरेका छौं,’ उनले भने ‘प्रयोगशालाको रिपोर्ट आएपछि रोग पहिचान हुन्छ।’ बिरामी पशुलाई छुट्टै राख्न कृषकहरूलाई अनुरोध गरिएको छ। रोग फैलिन नदिन पाखापानीमा शनिबार भेटेरिनरी अस्पतालको आयोजनामा निःशुल्क पशु स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको प्रमुख आचार्यले बताए।
शिविरमा ८२ जना कृषकहरूका ४२ गाई, १११ भैसी, २६७ बाख्रा, ५५९ कुखुरा, १०७ गोरु, ३४१ भेडा र ३ वटा कुकुर गरि कुल एक हजार ४३२ पशुपक्षीका लागि औषधि वितरण गरिएको छ। ८७३ पशु र ५५९ पक्षीका लागि लक्षण अनुसारको औषधि वितरण गरिएको भेटेरिनरी अस्पतालका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बताए। कृषकहरूले बताएको लक्षणका आधारमा परामर्श र औषधि वितरण गरिएको हो। पाखापानी, ठाडाखानी, कमनाथ, रायखोर, कोटगाउँ, कालावाङ, औला, उल्लेरी लगायत बस्तीका कृषकहरूले सेवा लिएका थिए।