रौतहट । रौतहटको राजपुर नगरपालिका-९ बैरिया गाउँमा ५ वटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । स्थानीय रुपनरायन साह कानुको घरदेखि शुक्रवार अपराह्न सुरु भएको आगलागीबाट गणेश साह कानु, उधो साह कानु, महेन्द्र साह कानु, राजेन्द्र साह कानुको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आगलागीमा अन्न, लत्ताकपडा धान, जलेर लगभग १७ लाख ३४ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागी हुँदा गौरबाट दमकल आउँदा ढिलो भएकाले समयमा नियन्त्रण हुन नसक्दा पूर्ण क्षति भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र गाउँले मिलेर झन्डै ४ घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए । रौतहटको सदरमुकाम गौर र चन्द्रपुर नगरपालिकामा मात्र वारुणयन्त्र दमकल रहेको छ ।
गौर चन्द्रपुर बाहेक अन्य कुनै पालिकामा आगलागीको घटना हुँदा ३० किलोमिटर टाढाबाट दमकल नपुग्दै घरहरू जलेर खरानी हुने गरेका छन् । जिल्लाको समस्यालाई विचार गर्दै दैविक प्रकोप उदार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सबै स्थानीय तहमा वारुणयन्त्र दमकल खरिदका लागि पहल गर्ने निर्णय गरेको छ ।