वीरगंज । जनावर र पन्छीलाई काटमार हुने क्षेत्रबाट जोगाएर जीवनदान दिन किनेर छाडिदिने चलन छ बौद्धमार्गीको । यस्तो चलन पछ्याउँदा १२ वर्षअघि खुम्बु क्षेत्रबाट याक र बाच्छा रोल्वालिङ क्षेत्रमा ल्याएर छाडिएका थिए । २०६७ मा स्थानीय गुम्बाका लामा बिरामी भए । लामा तंग्रिनका लागि उपचारसँगै एउटा पुण्यकर्म गर्ने सल्लाह गरे बेदिङका बासिन्दाले । खुम्बु क्षेत्र पुगे, १ सय ८ वटा याक किनेर ल्याए । याकसँगै हुर्कंदै गरेका ११ वटा बाच्छा पनि ल्याइए । उनीहरूलाई स्थानीयको रेखदेखमा छाडियो । उद्देश्य थियो याक संरक्षण र प्राणीले अकाल मृत्युको डरत्रास नमानी बाँच्न पाउँदा बुद्ध प्रसन्न हुनेछन् । रोल्वालिङ क्षेत्रमा प्राणीको हत्या गर्न रोक लगाइएको छ । जसका कारण बेदिङवासीले खुम्बुबाट याक र बाच्छा रोल्वालिङ क्षेत्र ल्याएर जीवनदान दिए । यलुङ पास हुँदै २२ दिन लगाएर निकै कष्टसाथ गरेर २८ लाख खर्चेर ल्याइएका याक संरक्षणमा स्थानीय जुटे । जीवनदानका लागि ल्याइएका याक संरक्षण गर्न कसले कतिवटा पाल्ने भनेर घरघरै भागबन्डा पनि गरियो । २/४ वर्ष स्थानीयले मिहिनेतसाथ याक संरक्षण गरे । संख्यामा वृद्धि भएर ३ सय ४० वटाको हाराहारीमा पुग्यो । उक्त क्षेत्रमा खुम्बुबाट ल्याउनुअघि स्थानीयसँग जम्माजम्मी ६० वटा जति याक थिए । संख्या बढ्दै गएपछि स्थानीयको भेलाले रोल्वालिङ याक संरक्षण तथा उत्पादन फार्मसमेत सञ्चालनमा ल्याए । उद्देश्य भयो, हिमाली क्षेत्रको जनावर जोगाउनु, पुण्य आर्जन गर्नु । हिमाली क्षेत्र भएकाले याकका लागि बेदिङ उपयुक्त भूगोल मानियो । संस्थाका अध्यक्ष नुर्बुथोन्डु शेर्पाले अध्यक्ष बनेर नेतृत्व गरे । बेदिङका बासिन्दाले रोल्वालिङलाई याक संरक्षित क्षेत्र पनि घोषणा गर्न स्थानीय सरकारसँग आग्रह पनि गरे । तर, पछिल्लो ४ वर्षमा यो क्षेत्रमा याक संरक्षण निकै ठूलो चुनौती आइपरेको छ । स्थानीय भाषामा ‘च्याख्यु’ अर्थात् हिमाली ब्वाँसोले भटाभट सिकार गर्न थालेपछि संरक्षणमा संकट भएको हो । उक्त क्षेत्रमा ५ वर्षअघिसम्म ब्वाँसो विरलै देखिन्थ्यो । हाल उक्त क्षेत्रमा ब्वाँसो समूहमा झुन्डहरू देखिने गरेको छ । जंगलमा छाडिएका याक र बाच्छा ब्वाँसोको सिकारमा परेका छन् । २ वर्षको अवधिमा मात्रै ब्वाँसोले २ सयभन्दा बढी याक र बाच्छा मारेको नुर्बुले बताए । ‘यसअघि रोल्वालिङ क्षेत्रमा हामीले झुन्ड बनाएर आएका च्याख्यु देखेका थिएनौं,’ उनले भने, ‘अहिले झुन्ड–झुन्डमा देखिन्छन् । जंगलमा छाडेका याक र बाच्छा धेरै मारिसके ।’ संरक्षण गरेर याकको संख्या ४ सय हाराहारी पुर्याए पनि अहिले ६५ वटा याक र १३ वटा बाच्छा मात्रै फार्मको गणनामा रहेको उनले बताए ।
जोगाउनका लागि बेदिङमा झारिएको याक र बाच्छा
केही वर्षअघिसम्म हिउँ चितुवाका कारण गाउँले हैरान थिए । तर, हिउँ चितुवा समूहमा हुँदैनथे, याक मार्दैनथे, बाच्छाबाच्छीको सिकार गर्थे । बाच्छाबाच्छी जोगाउन गाउँलेले सुरक्षाका उपाय अपनाएका थिए । ब्वाँसोका बथानले ठूला–साना सबै आकार प्रकारका याक मार्न थालेपछि बेदिङवासी हैरान छन् । ‘केही वर्षअघिसम्म हिउँ चितुवाले मात्रै याकका बाच्छा सिकार गर्ने गरेका थिए,’ उनले भने, ‘खासै क्षति भएको थिएन । ब्वाँसोले याक र बाच्छा नै सखाप बनायो ।’ ब्वाँसोको आक्रमणबाट बाँचेका पनि घाइते अवस्थामा छन् । याकको बथान गर्मीमा लेक उक्लन्छ, हिउँदमा केही तल झर्छ । जंगलमा खुला छाडिएका चौपायाका लागि गोठमा बाँधेर राख्ने व्यवस्था छैन । ‘जंगलमा चरेर बस्ने याक र बाच्छालाई गोठालो चाहिँदैन,’ नुर्बुले भने, ‘याकलाई बेलाबेलामा नुन दिनुपर्छ । हेर्न जंगलमा जाने गरेका थियौं, हरेक वर्ष बढ्नुपर्नेमा संख्या घटेपछि मात्रै थाहा पायौं ।’ ब्वाँसोको झुन्ड रोल्वालिङ विगतमा ४/५ वर्षअघि कहिल्यै नदेखिएको उनले बताए । तिब्बती क्षेत्रबाट ब्वाँसोको झुन्ड रोल्वालिङ क्षेत्रमा भित्रिएको हुन सक्ने स्थानीयको अनुमान छ । पछिल्लो समयमा याकलाई च्छो रोल्पा हिमताल रहेको क्षेत्र नाबाट बेदिङ झारेको उनले बताए । ‘ब्वाँसोबाट जोगाउन सकिन्छ कि भनेर माथिल्लो क्षेत्रबाट बेदिङमा याक झार्यौं,’ उनले भने, ‘तर, यो वर्ष गतिलोसँग हिउँ परेन । याक र बाच्छा माथिल्लो भेगमै लागे । यही बेलामा ब्वाँसोको सिकार बढ्यो ।’ प्रकृतिको चक्रमा एउटा प्राणीले अर्कोको सिकार गरेर संख्या नियन्त्रण गरिरहेको हुन्छ । तर, जोगाउन ल्याएका याक र बाच्छा ब्वाँसोबाट मारिइरहँदा चिन्ता बढेको उनले बताए । सुरु सुरुमा ब्वाँसोले बाच्छाबाच्छीमात्रै सिकार गरेको थियो, बाच्छा सकिँदै गएपछि माउ याक पनि मारिएका छन् । रोल्वालिङ क्षेत्रबाट घट्दै गएको याक जोगाउन संरक्षण अभियान थालिए पनि ब्वाँसोका कारण मुस्किल भएको स्थानीय दावाछिरिङ शेर्पाले बताए । प्रतियाक हाल हिमाली क्षेत्रमा एक लाख रुपैयाँसम्म पर्छ । उनका अनुसार ३ हजार मिटरभन्दा माथिको उचाइका भूभाग याकको बासस्थान हो । ‘हामीले अब सबै खत्तम हुने भयो जोगाउनुपर्छ भन्दै याकका हूल बेदिङ पनि झार्यौं तर पछ्याउँदै ब्वाँसोको झुन्ड पनि यतै झरेछ,’ उनले भने, ‘हिजोआज बस्तीमै ब्वाँसोको झुन्ड आउने गरेकाले सबै डराएका छन् ।’
रोल्वालिङ क्षेत्रमा ब्वाँसोको सिकारबाट जोगिएका स्थानीय ४ घरका ३३ वटा र रोल्वालिङ याक संरक्षण फार्ममा ६५ वटा याक छन् । बेदिङ ३ हजार ७ सय ४१ मिटर उचाइमा रहेको पर्यटकीय गाउँ हो । उक्त क्षेत्रमा स्थानीयवासीले याकसहित डिम्जो जातको चौंरी पालेका छन् । मुख्यगरी याक यो क्षेत्रमा दाउरा बोक्न र गुइँठा बनाउनका लागि पाल्ने गरेको स्थानीय बताउँछन् । यो क्षेत्रमा ५ सयको हाराहारीमा याक र बाच्छा थिए, ब्वाँसोको सिकारमा परेर संख्या हाल सयको हाराहारी पुगेको छ । याक हिमाली क्षेत्रमा पर्यावरणका लागि निकै महत्त्व राख्ने भएकाले संरक्षण गरिएको थियो । पछिल्लो समयमा याकबाट जन्मेका बाच्छाबाच्छी पाल्न इच्छुक गाउँलेलाई रोल्वालिङ संरक्षण फार्मले निःशुल्क दिने गरेको थियो । तर, हिमाली ब्वाँसोले मारेर चरन क्षेत्रमा फाट्टफुट्टमात्रै याक र बाच्छा देखिन्छन् । हिमाली क्षेत्रमा बिमा गर्न कोही नपुग्ने भएकाले पनि याक र बाच्छाको क्षतिमा चासो पुगेको छैन । गौरीशंकर संरक्षण क्षेत्रले जंगली जनावरले याकलाई क्षति गरेमा २५ हजार उपलब्ध गराउने गरेको छ । तर, ब्वाँसोले खाएको प्रमाणसहितको फोटो तुरुन्तै संरक्षण क्षेत्रमा लगेर निवेदन दिए मात्रै कार्यालयले क्षतिपूर्ति दिन्छ । तर, मान्छेको चाल टाढैबाट बुझेर लुक्ने, लुकेर सिकार गर्ने ब्वाँसो सजिलै देखिँदैनन् । चौपायाको सिकार गरेर भीरपहरा र वन क्षेत्रमा लुक्ने ब्वाँसोलाई भेट्न सकिँदैन । ‘जंगलमा चरिरहेका याक कतिखेर ब्वाँसोको सिकारमा पर्छन् कसरी पत्ता पाउनु ?,’ नुर्बुले भने, ‘त्योमाथि राहत क्षतिपूर्ति दाबी गर्न तुरुन्तै फोटो पनि पठाउनुपर्छ । जंगली जनावरले कतिखेर कहाँ याक मार्छ पत्तो हुँदैन ।’बेदिङ गौरीशंकर संरक्षण क्षेमा पर्छ । याकलाई संरक्षित जनावरको सूचीमा राखिएको छ । तर, संरक्षण क्षेत्रले याकभन्दा बढी ब्वाँसोलाई प्राथमिकतामा राख्दा चुनौती भएको उनले बताए । ब्वाँसाले याक र बाच्छा मारे भनेर स्थानीय बासिन्दाले निवेदन दिएको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले बताए । ‘रोल्वालिङ क्षेत्रमा ब्वाँसाले याक र बाच्छामा क्षति गरेको भन्ने निवेदन परेको छ,’ उनले भने, ‘लगत संकलन पनि भइरहेको छ । क्षति गरेको प्रमाणित भएमा क्षतिपूर्ति उपलब्ध गराउनेछौं ।’ तर, स्थानीय बासिन्दाले भने ब्वाँसोको क्षति रोकिदिन आग्रह गरेका छन् । सोलुखुम्बुको स्याङबोचेमा याक आनुवंशिक स्रोत केन्द्र छ, जहाँ उन्नत नश्ल विकासका लागि याकको प्रजनन गराइन्छ । सन् २०१४ मा तिब्बतबाट त्यहाँ ३० वटा याक ल्याइएका थिए । त्यसपछि बिस्तारै स्याङबोचे र आसपासका बस्तीमा घरपालुवा जन्तु मारिने क्रम बढ्यो । त्यो हिउँ चितुवा, वन कुकुर वा ब्वाँसो आदि कुन जनावरको कारण भन्ने प्रस्ट बताउने कोही थिएन । एक थरीले शंका गरे– दुई साताभन्दा बढी हिँडाएर तिब्बतबाट याक ल्याउँदा तिनलाई सिकार गरेर बाँच्ने जन्तुका हूल पनि पछ्याएर आएको हुनुपर्छ । यकिनसाथ भने कसैले दाबी गरेको छैन । यो खबर नुर्बुले पनि सुनेका छन् । तर, स्याङबोचे र बेदिङको दूरी निकै छ । बीचमा पार गर्न पर्वत र तालका अप्ठ्यारा बाटा छन् । मान्छेले सोझो आउजाउ गर्न बाटो सजिलो छैन । तैपनि गाउँलेलाई लाग्छ– ‘पक्कै पनि तिब्बतबाट आएका ब्वाँसा बिस्तारै सगरमाथा क्षेत्र हुँदै रोल्वालिङमा आइपुगेको हुनुपर्छ ।’ बेदिङवासीमा यतिबेला चौपाया मारिँदा राज्यले दिने क्षतिपूर्ति पाइन्छ/पाइँदैन भन्ने चासोको साटो याक सबै ब्वाँसोले सिध्याउने भयो भन्ने चिन्ता छ ।