काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले चितवन-२ को उपनिर्वाचनमा सभापति रवि लामिछानेलाई उठाउने भएको छ । वैशाख १० गते हुने चितवन-२, बारा २ र तनहुँ १ का लागि उम्मेदवार छान्न पार्टीले प्रारम्भिक निर्वाचन गर्ने भए पनि चितवन-२ मा सभापति लामिछानेको मात्र उम्मेदवारी परेको हो ।
चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा कांग्रेसले पनि उम्मेदवार चयन गरिसकेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई चितवन-२ को उम्मेदवार उठाउने निर्णय गरेको हो ।
यसअघि मंसिर ४ मा भएको निर्वाचनमा उक्त क्षेत्रमा लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए । लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको थियो । त्यस्तै एमाले उम्मेदवार कृष्णभक्त पोख्रेलले १४ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए । उपनिर्वाचनका लागि एमालेले कसलाई उठाउने भन्ने तय गरिसकेको छैन ।