वीरगंज । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीका लागि आईपीओ जारी गर्न तथा सेयर कारोबारका लागि छुट्टै नीतिगत व्यवस्थाको प्रस्ताव गरेको छ । बोर्डले बढीमा २५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीलाई साना तथा मझौला कम्पनी (एसएमई) को रुपमा वर्गीकरण गर्ने प्रस्ताव गरेको छ ।
साना तथा मझौला कम्पनीका लागि धितोपत्र कारोबारमा छुट्टै एसएमई प्लाटफर्म ल्याउन तयारी गरेको बोर्डले उक्त कम्पनीहरुको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली २०७९ को मस्यौदा सार्वजनिक गर्दै उक्त प्रस्ताव गरेको हो ।
‘यस नियमावली बमोजीम बोर्डमा धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्ता पूँजी बढीमा २५ करोड रुपैयाँ हुनुपर्नेछ । तर साना तथा मझौला संगठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरी बोर्डले चुक्ता पूँजीको सीमा हेरफेर गर्न सक्नेछ’ प्रस्तावित मस्यौदामा भनिएको छ ।
यसरी सार्वजनिक निष्कानस गर्ने कम्पनीले संस्थासँग सम्बन्धित नियामक निकायले अन्यथा तोकेको अवस्थामा बाहेक संगठित संस्थाको जारी पूँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी धितोपत्रको सार्वजनिक निष्कासन गर्नु पर्ने प्रस्ताव नियमावलीमा गरिएको छ । यसरी सार्वजनिक निष्कानस गर्ने कम्पनीले कारोबार सुरु गरेको एक वर्ष पुरा गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ ।