वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा सहभागी हुनलागेको जनता समाजवादी पार्टी (जसपा) मा मन्त्री छान्ने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । बिहिबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्रीको टुङ्गो लगाउने जिम्मा अध्यक्ष यादवलाई दिएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेत जानकरी दिए ।
गठबन्धनमा जसपाले दुई मन्त्रालय पाउने समझदारी भएको छ । स्रोतकाअनुसार बिहिबार सम्पन्न गठबन्धनको बैठकमा जसपालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय दिने सहमति भएको हो ।
सरकारबाट पार्टीको नेतृत्व वरिष्ठ नेता अशोक राईले गर्ने पक्कापक्की छ । अध्यक्ष यादवले राईलाई शिक्षा मन्त्रालयको जिम्मा दिएर सरकारमा पठाइरहेका छन् । अर्कोतर्फ कृषि मन्त्रालयमा पर्सा-१ का सांसद् प्रदीप यादव र सिराह-४ का सांसद् राजकिशोर यादवको नाम चर्चामा छ । उनीहरुमध्ये एकले यसको जिम्मेवारी पाउने भएका छन् ।