वीरगञ्ज । आज बिहीबार रामनवमी पर्व मनाइदै छ ।वीरगन्जको रामघडवामा अवस्थित कुर्मी सेवा सदनमा पनि रामनवमीको उपलक्ष्यमा पुजा गरिदै छ । मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरि देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरि श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ ।
हिन्दू धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथीमा पर्ने आजको दिनलाई भगवान् श्रीरामको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै नवदुर्गा देवीको पनि पूजा हुन्छ ।
त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा यो पर्व मनाइने गरिएको हो । आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिन हिन्दू धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । वीरगञ्ज आर्ट्स एकेडमी नामक संस्थाले आज वीरगञ्जमा रामनवमीको अवसरमा एउटा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत यहाँस्थित नारायणी रंगशालामा भव्य पूजा गरिने आयोजकहरुले जनाएका छन् ।
त्यसैगरी पर्सा, बारा, रौतहट र विशेषगरी मधेश प्रदेशको केन्द्र जनकपुरधामस्थित रामजानकी मन्दिरमा नेपाल र भारतबाट ठूलो संख्यामा श्रद्धालुहरु पूजा गर्न आउने गरेका छन् । जनकपुरमा आज ठूलो मेलानै लाग्ने गरेको छ ।
सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।