वीरगंज । चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । फिल्म प्राविधिकको छाता संस्थाले उक्त मितिदेखि १२ घण्टाको सिफ्ट सिस्टम तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको हो ।
अध्यक्ष पुष्कर लामाले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था लागु गर्न लागिएको बताए । जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नुपर्नेछ ।
अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ । नेफ्टाको हालै बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । ‘२०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी थियो तर कोरोना महामारीले रोकियो,’ अध्यक्ष लामाले भने, ‘फिल्मको अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याएका हौं । जिम्मेवार श्रमिक संस्थाले भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ ।’सिफ्ट प्रणाली कार्यान्वयन गर्नको लागि निर्माता संघ र चलचित्र संघजस्ता सम्बद्ध निकायसँग नेफ्टाले सहकार्य गर्ने पनि अध्यक्ष लामाले जनाए । विदेशी फिल्म उद्योगमा भने आठ घण्टाको नियम अभ्यासमा छ ।