बारा । उपराष्ट्रपति रामसहाय यादव आइतबार गृहजिल्ला बारा आइपुगेका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादव पहिलोपटक गृहजिल्ला पुगेका हुन् । आइतबार यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित बारा र पर्साका सांसद, सुरक्षा अधिकारीहरुले स्वागत गरेका थिए । उपराष्ट्रपति यादव विमानस्थलबाट बाराको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई दर्शन गर्न पुगेका छन् ।
गढीमाईस्थित सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले आफूले जिल्ला र क्षेत्रलाई चिनाउने बताएका थिए । ‘सबैप्रति म अभारी छु । सरकारले देश र जिल्लाको विकास निर्माणसँगै बारा जिल्लाका ऐतिहासिक सिम्रौनगढ र गढीमाईलगायतको विकास गरोस्,’ उनले भनेका छन् । यस क्रममा उनले आफू साधारण परिवारको भए पनि क्षेत्र र जिल्लावासीले चिनाएपछि देशको उपराष्ट्रपति पदमा पुगेको बताए ।
गढीमाई शक्तिपीठ बारा निर्वाचन क्षेत्र नं २ को केन्द्र महागढीमाई नगरपालिकाको बरियारमा पर्छ, जहाँबाट यादव गत मंसिरको प्रतिनिधिसभामा निर्वाचित भएका थिए । साथै चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । ग्रामीण क्षेत्र भ्रमणको क्रममा यादवले ऐतिहासिक अन्य शक्तिपीठको दर्शन गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमणका लागि तामझामबिना नै पैदलयात्रुहरूलाई आउजाउमा राकिएको छैन । समान्य सुरक्षा बन्दोवस्तमा उनको दुईदिने भ्रमणको तयारी गरिएको छ ।