वीरगंज । मकवानपुर जिल्लाको भीमभेदीमा ठूलो रुखको छहारी मुनि ७० देखि ८० जनाको हुल छ । सबै थकित र मलिन अनुहारमा छन्, कोही पानी पिउँदै छन् त कोही पसिना पुछ्दै। टाढाबाट झट्ट हेर्दा कुनै आमसभा वा मेलाजस्तो लाग्ने यो हुल, वास्तवमा भने मिटरब्याजी पिडितहरुको हो । गाउँगाउँमा अभिभावकको भूमिका पुरा गर्न पुगेको स्थानिय र प्रदेश सरकारबाट आश मारेर उनीहरु हिडेरै न्याय माग्न राजधानी सहर आउँदैछन् । त्यही भिडबीचमा बसेकी धनुषाको गणेशमान चारनाथ नगरपालिका–८, लवटोलीका लक्ष्मीनिया देवी आफूहरु सरकारसँग न्याय माग्न काठमाडौँ हिडेको बताउँछिन् । ‘न्याय माग्न सरकारकहाँ जाँदैछु’, उनले भनिन् । भिडबाटै अर्काे आवाज आउँछ, ‘हामी मिटरब्याजबाट पिडित भयौँ । सरकारसँग न्याय माग्न काठमाडौँ जाँदै छौँ’ घरबाट हिडेको आज ९ दिन भयो । उनीहरका यी र यस्तै भनाइले यही दर्शाउँछ कि स्थानीय र प्रदेशको सरकारबाट उनीहरु ‘सरकार’को अनुभूति फिटिक्कै गर्न सकेका छैनन् । सरकार काठमाडौँ अर्थात राजधानी अझ भनौँ सिंहदरबारमा मात्रै छ भन्ने उनीहरुको बुझाइ छ ।
हैन भने गाउँमा पुगेको सरकार नदेखेर काठमाडौँमा किन आउनुपथ्र्याे र न्याय खोज्दै ? स्थानीय सरकारले नसुनेरै त होला ? त्यही भिडमा अर्काे व्यक्ति छन् श्याम विश्वकर्मा । जो साहुबाट पिडित भएर मर्नुभन्दा न्याय माग्दामाग्दै मर्छु भनेर सरकार गुहार्न काठमाडौँ आउँदैछन् । उनी भन्छन्, ‘साहुबाट पिडित भएर मर्नुभन्दा बरु न्याय माग्दामाग्दै मर्न तयार छौँ, हामी सबै त्यही चाहन्छौँ ।’ लहानका श्याम विश्वकर्माका अनुसार उनले ५ लाखको रिण पटकपटक गरी २६ लाख तिरे । फेरि पारिवारिक समस्या परेपछि सोही साहुबाट पुनः १० लाख लिए । यो कोभिड सुरु हुने बेलाको कुरा हो, त्यसपछि उनले त्यो ऋण तिर्न सकेनन् । अहिले साहुले हरदिन घरमै जाने र धम्काउने गरेपछि न्याय माग्न हिडेका छन्। उनले भने अनुसार ४÷५ वर्ष पहिला उनका दाईले पसल थाप्नको लागि ५ लाख रुपैयाँ साहुबाट लिएका थिए । केही समयमा बिरामी भए, उपचारमा पैसा सकियो । दाईले तिर्न नसकेपछि ऋणको बोझ श्यामको काँधमा आयो । उनले आफूले पटक पटक गरी ५ लाखको सावाँब्याज २६ लाख तिरेको दावी गर्छन् । उनी भन्छन्, ‘मैले पहिलो पटक ३ लाख, एक पटक ९ लाख, एक पटक २ लाख, एक पटक ८ लाख र फेरि अर्काे पटक २ लाख तिरेको छु ।’ यति धेरै पैसा तिरिसक्दा पनि जग्गाको कागज भने अझै हात पार्न सकेका छैनन् ।
साहुले पछिल्लो एक वर्षदेखि घरमै आएर धम्काउने, थर्काउने गर्न थाले । अहिले ५७ लाख साहुले मागिरहको छ । यतिमात्रै होइन साहुले ऋण नतिरेको भन्दै मुद्दा समेत दायर भएको विश्वकर्मा बताउँछन् । ‘मुद्दाहरु हाल्देको छ, हामीसँग मुद्दा लड्ने पैसा पनि छैन’, उनी भन्छन्, ‘एक दिन कमाउँछौँ खान्छौँ, कमाउनका लागि पनि सोध्नुपर्छ । उनीजस्तै मिटरब्याजबाट पिडित ७० देखि ८० जनाको सङ्ख्यामा मिटरब्याज विरुद्ध सङ्घर्ष समितिको रुपमा काठमाडौँसम्म न्याय माग्न आउँदै छन् । समितिको नेतृत्वमा चैत दुई गतेदेखि बर्दिवासबाट ८० जनाको टिमका उनी पनि एक हुन्, जो पैदलै काठमाडौँ आउँदै छन् । उनीहरु बाटोमै खाने, बस्ने र यात्रा गर्ने गरिरहेका छन् । आज पनि बिहान ७ बजे भिमफेदी भन्दा ३ किलोमिटर अगाडिबाट हिडेर भिमफेदी हुँदै आज इन्द्रसरोवर गाउँपालिकाको खानीखेतमा बास बस्दै छन् । तमसुक व्यवस्था खारेज गर, मिटरब्याजीले लुटेको सम्पत्ति फिर्ता गर, मिटरब्याजीको अवैध सम्पत्ति छानविन गर, पिडितमाथि लगाइएको झुटा मुद्दा खारेज गर, मिटरब्याजीलाई कारबाही गर, पिडितलाई न्याय देलगायतका नाराहरु तथा सचेतनाका कार्यक्रमहरु गर्दै काठमाडौँ आइरहेको समितिका सदस्य कुमार बर्ताैलाले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा हिजो विहीबार मकवानपुरका सिडिओ राजेन्द्रदेव पाण्डेले उनीहरुलाई सरकारले न्यायको लागि पहल गरिएको भन्दै फर्काउने कोशिष गरेका थिए । तर, उनीहरु भने विगतमा पनि न्याय दिने भनेर सम्झौता भए पनि न्याय नपाएको कारण काठमाडौँसम्म नै आउने र न्याय नपाउनसम्म काठमाडौँमै आएर न्यायका लागि लड्ने योजना अनुसार अगाडी बढेको समितिका सदस्य बर्ताैलाले बताए । प्रधानमन्त्री प्रचण्डले कानून सचिवलाई मिटरब्याज सम्बन्धि कानूनलाई प्रस्तावको रुपमा मन्त्रिपरिषद् ल्याउन र संसदमा दर्ता गर्न भनिसकेको प्रधानमन्त्री प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका छन् ।