वीरगंज । झापासहित, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारालगायतका जिल्लाका करिब ७२ जना मिटरब्याज पीडित काठमाडौं जान भन्दै भीमफेदीको उकालो चढेका छन् । २ चैतमा महोत्तरीको बर्दिबासबाट सुरु पीडितहरूको पैदलयात्रा बुधबार साँझ हेटौँडामा आइपुगेको थियो । जिल्ला भूमि आयोग समिति मकवानपुरका अध्यक्ष विष्णु दाहालले गोरक्षश्वर मन्दिरमा बस्ने, खाने बन्दोबस्त मिलाइदिएपछि बिहीबार बिहान हेटौँडामै मिटरब्याजीहरूविरुद्ध प्रदर्शन गर्दै बेलुका भीमफेदी गाउँपालिकास्थित भीमफेदी बजारमा बास बसेका पीडितहरूको समूह यतिबेला उत्तरी क्षेत्रतर्फ अघि बढेको छ । भीमफेदी बजारबाट देउराला डाँडा हुँदै पीडितहरूको पैदलयात्रा इन्द्रसरोबरतर्फ लम्किरहेको छ । पैदलयात्रा सुरु गर्नुअघि पीडितहरूसँग मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बामदेव गौतमले भेटेका थिए । सीडीओ पाण्डेले काठमाडौं नजान भन्दै समस्या समाधानका लागि सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर, पीडितहरू प्रशासनको आग्रह अस्वीकार गरी काठमाडौंतर्फ अघि बढेका छन् ।
प्रहरी प्रमुख बामदेव गौतमले काठमाडौं नजान र जाने नै भए गाडीको व्यवस्थापन गर्दिन प्रशासनको आग्रह अस्वीकार गरेको बताए । ‘सीडीओ साहेबले समस्या समाधान हुन्छ काठमाडौं नजानूस् भन्नुभएको थियो । उहाँहरू एक मन बनाएर हिँड्नु भएको रहेछ, फर्किनु भएन । भीमफेदीको उकालो लागिसक्नु भयो,’ गौतमले शिलापत्रसँग भने । काठमाडौं जानका लागि गाडि खोज्दिने आग्रहसमेत पीडितहरूले अस्वीकार गरेको उनको भनाइ छ । ‘हामीले काठमाडौं जाने भए गाडी खोज्दिन्छौँ, गाडिमा जानूस् भनेका थियौँ । हामी हिँडेर आएको हिँडेरै जान्छु भनेर अघि बढ्नुभयो,’ गौतम भन्छन् । मिटरब्याज पीडितहरूले शुक्रबार साँझ इन्द्रसरोबर गाउँपालिका गएर बास बस्ने र शनिबार बिहान काठमाडौंतर्फ अघि बढ्ने योजना बनाएको पीडितमध्येका एक महम मुस्किमले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराउने भन्दै उनीहरू काठमाडौंको यात्रामा निस्किएका हुन् । काठमाडौं पुगेर ‘सिंहदरबार घेर्ने’ चेतावनी पीडित छेदीलाल पासवानले दिए । ‘हामी यति दुःख गरेर काठमाडौं हिँडेको त्यसै हैन । मिटरब्याजको समस्या वार कि पार लगाएर मात्रै गाउँ फर्किन्छौँ । हाम्रो माग सहजै सम्बोधन नभए सिंहदरबार घेर्छौं,’ पासवानले शिलापत्रसँग भने । उनले मिटरब्याज पीडितको ७०–७५ जना समूहलाई ख्यालख्याल नसोच्न सरकारलाई चेतावनीसमेत दिएका छन् । पैदलयात्राको समूह काठमाडौं पुगेपछि दर्जन बढी जिल्लाका पीडितहरूलाई पनि उतार्ने योजना रहेको पासवानले सुनाए ।
पीडितहरूले मिटरब्याजीलाई कडा कारबाही, पीडितको जफत गरिएको सम्पत्ति (घर, जग्गा) फिर्ता, मिटरब्याजीको सम्पत्ति छानबिन, सहुलियत दरमा ऋणको व्यवस्था, मिटरब्याजीबाट पीडितमाथि गरिएको यौनशोषणको छानबिन र दोषीलाई कारबाही, तमसुक व्यवस्था खारेजलगायतका माग अघि सारेका छन् । पैदल यात्रा गर्नुअघि मधेस प्रदेशका मुख्यमन्त्री सुरेश यादवलाई माग सम्बोधनको लागि आग्रह गरे पनि बेवास्ता गरेपछि काठमाडौं हिँडेको पीडित महमद मुस्किलले सुनाए । ७२ जनाको समूहमा ५० जना महिला मात्रै छन् । महिलाहरूको खानपिन र सुरक्षाको प्रबन्ध पुरुष टोलीले हेरिरहेको महमदले बताए । सप्तरी, ढाकनेश्वरी नगरपालिका–९ की ललितादेवी साहले मिटरब्याजले बिचल्ली बनाएको बताइन् । मिटरब्याजका कारण श्रीमानले समेत आफूलाई छाडेको साहको गुनासो छ । श्रीमानले विदेशबाट कमाएर ९ धुरमा बनाएको ६ कोठे घर यतिबेला मिटरब्याजीको कब्जामा रहेको उनको भनाइ छ ।
आफ्नै घरमा कोठामा बस्ने मिटरब्याजी पुनम साहले घरमा कब्जा जमाएको उनको आरोप छ । घर बनाउन लिएको पैसा तिरिसक्दा पनि पीडकले धम्क्याउँदै थप कागज बनाएर पैसा असुल गरिरहेपछि श्रीमानले छोडेको उनले बताइन् । महमतले ३ लाखको ऋण २१ लाखसम्म तिरिसक्दा पनि छुटकारा नपाएको बताए । उनको दुई तले घर मिटरब्याजी विनोदकुमार यादवले आफू विदेश छँदै पास गरेको बताए । उनी कतारमा गाडी चलाएर यादवको ऋण तिरिरहेका थिए । नेपालमा बाबुलाई धम्क्याएर घर पास गरेको उनले बताए । विनोद दास सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवको सहोदर दाइ रहेको पीडित महमदको भनाइ छ । दाइको मिटरब्याज धन्दामा अध्यक्ष दिनेशले सहयोग गरेको भन्दै गाउँमा बस्न नसकेर काठमाडौं हिँडेको बताए । मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालले आयोजना गरेको पैदलयात्रामा बर्दिबासबाट सुरु भएर दोस्रो दिन लालबन्दी, तेस्रो दिन बागमती, चौथो दिन रौतहटको चपुर, पाँचौँ दिन निजगढ, छैटौँ दिन पथलैयामा बास बसेका थिए । सातै दिन हेटौँडामा आएका उनीहरू आठौँ दिन भीमफेदीबाट उकालो चढिरहेका छन् ।