काठमाडौं । तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग गरेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याइ पायक पर्ने ठाउँमा राख्न माग गरेका हुन् ।
नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र नेकपा(एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्तरुपमा तथा नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले छुट्टै विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गरेका छन् ।
विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भर्खरै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौँ ।’