काठमाडौँ । कम्युनिष्ट दल निकट ६ वटा किसान संघ तथा संगठनहरूले विभिन्न माग राख्दै आज प्रदर्शन गरेका छन् ।
माइतीघरमा आज नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान यूनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले किसान एकता जिन्दावाद, किसानहरू गर्जन्छन्, किसानमारा थर्कन्छन्, किसानमाथिको वित्तीय शोषण अन्त्य गर, बढ्दो महंगी नियन्त्रण गर, विषादीयुक्त खाद्यान्न आयात बन्द गर, जस्ता नारा लगाएका थिए । उनीहरूले लघुवित्त, मीटरब्याजी, रासायनिक मलखाद, कृषिमा वैदेशिक लगानी र भूमि बैंकलगायतका किसानहरूका विभिन्न समसामयिक मागहरू राखी संयुक्त विरोध प्रदर्शन गरेका हुन् ।