बडिगाड दुर्घटनामा बेपत्ता भएका मृत अवस्थामा भेटिए: ज्यान गुमाउनेको संख्या १५ पुग्यो
वीरगंज संजाल
१८ मंसिर २०७६, बुधबार १३:५७
२७६१
बागलुङ | बडिगाड गाउँपालिका-७, भिमगिठेको घोकर्नामा मंगलबार भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।गुल्मीको इश्मा गाउँपालिका वडा नम्बर ५ दोहोली कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिका १ बायखोला तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्डको छेउबाट झण्डै ३ सय मिटर तल बडिगाड खोलामा खस्दा बेपत्ता भएका इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्कीको बुधबार शव फेला परेको छ ।
कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारिएको स्थानीय दिनेश शर्माले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने बर्ष २१ का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका ४ बस्ने मृतक सूचना कार्कीका छोरा ४ वर्षीय हिमाल कार्की र २४ वर्षीय निमा केसीको महाराजगञ्जमा रहेकाे त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।घाइते तीनै जनालाई ढोरपाटनमा रहेकाे बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको थियो ।
गुल्मीको इश्मा गाउँपालिकाबाट २६ जना यात्रु बोकेर आएको जीप दुर्घटना हुनुभन्दा झण्डै आधा घण्टा अगाडि ग्वालीचौरको खौलारामा ट्राफिक कारबाहीमा परेको थियो । ट्राफिक प्रहरीले ओभरलोड भएको भन्दै आठ जनालाई त्यसै ठाउँमा झारेर लोकल भ्यानमा पठाएको थियो । भ्यानमा पठाएका कारण आठ जना सकुशल छन् । अन्य १५ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेका सबै निसीखोलाको बायखोलामा कार्की बन्धुहरुको बुधबार हुने भनिएको कुलपूजाका लागि जाँदै थिए । दुर्घटनापछि निसीखोला गाउँपालिका १ काे कार्की गाउँ भनेर चिनिने बायखोला शोकमा डुबेको छ ।