४० हजार घुस सहित मालपोतका सुब्बा ‘मिश्रा’ रँगेहात पक्राउ
वीरगंज संजाल
१८ मंसिर २०७६, बुधबार १२:५४
२३३९
भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालयका एक सुब्बालाई अख्तियारले घुस सहित रँगेहात पक्राउ गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्रलाई घुस सहित रँगेहात पक्राउ गरेको हो ।
मिश्राले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतमलाई ४० हजार रुपैयाँ दिनु भनेर घुस माग गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।
घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ४० हजार रुपैयाँ लिसकेको अवस्थामा कार्यालय परिसरबाटै रँगेहात पक्राउ परेका हुन् । उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । यसअघि धनुषाको महेन्द्रनगरबाट ट्राफिक प्रहरी नविन झा १ हजार रुपैयाँ घुस सहित पक्राउ परेका थिए ।