वीरगंज । अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा हराउन ७५ रनको लक्ष्य पाएको छ । टेस्टको दोस्रो दिन बिहीबार भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ६३ रनमा अलआउट भएपछि अस्ट्रेलियाले झिनो लक्ष्य पाएको हो ।
अब अस्ट्रेलियाले तेस्रो दिन शुक्रबार जितका लागि प्रयास गर्नेछ । भारतको दोस्रो इनिङ्सको समाप्तीसँगै दिनको खेल पनि समाप्त भएको थियो । भारतलाई फेरि एकपल्ट सस्तोमा समेट्न नथान लियोनले प्रमुख भुमिका खेले ।
उनले ६४ रन खर्चेर ८ विकेट लिए । भारतका लागि भने अक्षर पटेल १५ रन बनाएर नटआउट रहे । टिमका लागि उच्च व्यक्तिगत स्कोर भने चेतेश्वर पुजाराको नाममा रह्यो । उनले ५९ रन बनाए । यस्तै श्रेयस अयरले २६ रनको योगदान दिए ।