वीरगंज । महिला हत्यालगत्तै फरार रहेका एक आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार बलेफी गाउँपालिका-१ का ४६ वर्षका सीताराम तिमिल्सेना १९ वर्षपछि समातिएका हुन् । ०६१ माघ १७ मा बलेफी गाउँपालिका-८ की ६३ वर्षीया मनमाया नेपालीलाई सामान्य विवादका क्रममा तिमिल्सेनाले दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोप लागेको थियो ।
मंगलबार विशेष सूचनाको आधारमा इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपाने नेतृत्वको टोलीले आरोपीलाई नियन्त्रणमा लिएको हो । ‘बलेफी गापा-८ कै गाउँमा टोप्काबाट लुकीछुपी बसेको अवस्थामा तिमिल्सेनालाई पक्राउ गरेका छौं, निजलाई मुलुकी अपराध संहिता, ऐन २०७४ को परिच्छेद १२ अर्न्तगत ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ,’ इन्स्पेक्टर न्यौपानेले भने । जिल्ला अदालतबाट आरोपीलाई सात दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको उनले जनाए ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले मात्रै यही आर्थिक वर्षमा ८, इप्रका मेलम्चीले ४, ठोकर्पा २ र जिप्रकाबाट ८ जना गरी विभिन्न मुद्दाका आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७९/०८० मंसिर मसान्तसम्म मात्रै २२ जना आरोपी समातिएका छन् ।