वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ लिएको आरोपमा उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
अख्तियारले सो रकमसहित नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धान गर्दा मेयर गुप्ता र साहबीच आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि एक लाख ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगको दाबी छ ।
दुवैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो कायम गरी कैद र बिगोबमोजिम जरिकानाको मागदाबी गरिएको छ ।