बारा । ग्रामिण क्षेत्रको बिद्युत प्रसारण र बितरण प्रणालीलाई सदृढीकरण गर्ने उदेश्यले बाराको बरेवादेखि मटिअर्वासम्म ११ केभिए लाईनको पोल र तार जडान भईरहेको छ । कलैया उपमहानगरपालिकाको अगुवाई र बारा उद्योग बाणिज्य संघ कलैयाको समन्वयमा बिद्युत प्रसारण र बितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्य भईरहेको हो ।
दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग(एस.एस.ई.सि.)बिद्युत प्रसारण र बितरण प्रणाली सुदृढीकरण परियोजना( पि..टि.डि.एस.एस.पी)को करिब १ करोड ५० लाखको आर्थिक सहयोगमा काम भईरहेको बारा उद्योग वाणिज्य संघका कार्यालय सचिव बिष्णु प्रसाद साहले जानकारी दिनुभयो । गत शनिबार कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साह नेतृत्वको टोलीले कार्यस्थलको अनुगमन गरेको थियो । अनुगमन टोलिमा बारा उद्योग वाणिज्य संघ कलैयाका अध्यक्ष राजकुमार साह, उपाध्यक्ष प्रदिप साह ,महासचिव रामअशिष साह, उद्यम बिकास अधिकृत समिता कुमारी पञ्जीयार लगायतको उपस्थिती रहेको थियो ।
कलैया उपमहानगरपालिकाको बरेवादेखि मटिअर्वासम्म करिब १२ कि.मि. ११ के.भिको लाईनको पोल तार जडान गर्नुपर्ने कार्यतालिका छ । दुई बर्षभित्र पोल तार जडान गर्नुपर्ने कार्यतालिका भएपनि कार्यविना अवरोध निरन्तर सञ्चालन भईरहेमा करिब ३/४ महिनामै सकिने अनुमान गरिएको बारा उद्योग वाणिज्य संंघका कार्यालय सचिव साहले बताउनुभयो । मधेश प्रदेशको बारा लगायत ८ वटै जिल्लाको ग्रामिण क्षेत्रमा विद्युत प्रसारण र वितरण प्रणालीलाई सुदृढीकरण गर्ने अभियान परियोजनाले चलाईरहेको छ ।