वीरगंज । संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेले मधेश सरकारमै रहने भएको छ । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र नेतृत्व सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिए पनि त्यसको प्रभाव भने मधेश सरकारमाथि नपर्ने एमालेका नेताहरुले बताएका छन् । नेकपा एमालेले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएपछि त्यसको प्रभाव भने प्रदेशहरुमा पनि देखा परिने भएको छ । तर, नेकपा एमालेका मधेश प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले केन्द्रमा समीकरण फेरबदल भए पनि मधेश प्रदेश सरकारबाट आफूहरू नहट्ने बताएका छन् ।
उनले सरकारबाट बाहिरिने अथवा समर्थन फिर्ता लिने कुनै योजना नरहेको बताए । उनले भने–‘ हामीले कांग्रेस र माओवादीलाई समर्थन गरेका होइनौँ, त्यसैले सरकारबाट बाहिरिनु वा समर्थन फिर्ता लिनु आवश्यक छैन ।’ आफूहरूले जसपा नेतृत्वको सरकारलाई समर्थन गरेकाले मधेश प्रदेश सरकारमा एमालेको सहभागिता कायम रहने उनको भनाइ छ । उनले मुख्यमन्त्रीसँग आफूहरू निरन्तर सम्पर्क मै रहेको बताए । ‘आज पनि भेटघाट हुँदा कुरा भएकै थियो,’ उनले भने, ‘सरकार परिवर्तनबारे त्यस्तो केही कुरा भएको छैन ।’ यता जसपाका एक नेताले समेत मधेश प्रदेशमा केन्द्रीय राजनीतिको असर नपर्ने बताए । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा नेकपा एमालेका २५ जना सांसद छन् । मधेश सरकारमा हाल एमालेका चारजना मन्त्री र सभामुख छन् ।
यहाँ सरकार निर्माणमा बहुमतका लागि ५४ जना सांसदको आवश्यकता रहे पनि जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने उनले सिंगो सदनको विश्वासको मतसमेत पाएका थिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको थियो । पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।