वीरगंज । भिजिट भिषामा नेपाल बस्दै आएका चिनियाँ नागरिक यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रवक्ता सञ्जय सिंह थापाका अनुसार किशोरीहरूलाई ललाइफकाई बोलाएर बन्धक बनाएको सूचना सीआइबीले प्राप्त गरेको थियो।
थापा भन्छन्, ‘जिल्लामा बस्ने किशोरीहरूलाई आर्थिक प्रलोभन दिएर काठमाडौं बोलाउने र यौन शोषण गर्ने गरेको भन्दै चिनियाँ नागरिक याङ लिमिङ पक्राउ परेका हुन्।’प्रहरीका अनुसार उनले ललितपुरको गोंगटीमा पाँच जना किशोरीलाई बन्धक बनाएका थिए। पाँच जना किशोरीलाई उद्धार गरिएको छ।
याङले दुई जना किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप छ। बन्धक बनाएका पाँच जनामध्ये एक किशोरीले परिवारमा सूचना दिएकी थिइन। उनको परिवारको गोप्य सूचनाका आधारमा चिनियाँ नागरिक पक्राउ परेका हुन्। उनीबारे थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको सीआइबीका प्रवक्ता थापाले बताए।