जनकपुरमा सामूहिक विवाहको राैनक : एउटै मण्डपमा १०८ जोड़ीको बिहे
वीरगंज संजाल
१६ मंसिर २०७६, सोमबार १५:०५
३७९७
जनकपुरधाम । जनकपुर १३ स्थित मनिमण्डपमा यतिबेला सामूहिक विवाहकाे राैनक छाएकाे छ । आयोजक विश्व हिन्दू परिषद र मनिमण्डप समिति हजाराैँ अतिथिका लागि भोजन र सत्कारमा व्यस्त छन् ।
संघीय सरकार र स्थानीय सरकारसँग रुष्ट जनकपुर वार्ड- १३ का अध्यक्ष शुभ नारायण मण्डल भन्छन्, ‘राम र जानकीको वास्तविक विवाह भएको यो मनिमण्डप (वैवाहिक स्थल) लाई कहिले पनि ध्यान दिइएन ।’ उनी स्थानीय सरकार प्रति आक्रोश व्यक्त गर्दै थप्छन्, ‘जानकी मन्दिर त ठीक छ तर वैवाहिक स्थलको रुपमा कृत्रिम विवाह मण्डपको प्रवर्धनमा लागेको छ ।’
एकल विद्यालयका राष्ट्रिय अध्यक्ष तथा समाजसेवी ओम सर्राफले दाइजोलाई निर्मूल गर्ने उद्देश्यले नै यो सामूहिक विवाहको कार्यक्रमका आयोजना गरिएको बताए ।सर्राफले न्यूज- २४ संग कुरा गर्दै भने, ‘हामी दाइजोलाइ निरुत्साहित गर्न र दाइजोको नाममा हुने ठुलो लेनदेनलाई समेत समाप्त पार्न पनि यो सामूहिक विवाहको आयोजना गरेका हाैँ ।’
उनका अनुसार अहिले मिथिला समाजमा वैवाहिक खर्च धान्न सक्ने अवस्था छैन । त्यसकारण पनि यस प्रकारको विवाहको उत्सवको खाँचो रहेको छ ।यति बेला मनिमण्डपमा दुइ दर्जन बढ़ी रथ, बैंड बाबा र ढोल पिपहीसहित बेहुला-बेहुलीलाई नगर परिक्रमा गराउने तैयारीमा छन्, आयोजकहरु ।