वीरगन्ज | पर्साको विन्दवासिनी गाउँपालिका वडा नंबर ५ प्रसौनीभाठामा अन्र्तराष्ट्रिय अहमदिया संघको आठौं वार्षिक जलसा सालाना (सम्मेलन) सम्पन्न भएको छ ।प्रसौनीभाठा स्थित मसरुर पब्लिक आधारभुत विद्यालयमा परिसरमा आयोजित दुइ दिने जलसा सम्मेलनमा नेपालको झापा, सुनसरी, सप्तरी, सिरहा, काठमाडौं, तनहुँ, चितवन र धनगढी जिल्लाका साथै भारतबाट आएका प्रतिनिनधीहरुको पनि सहभागीता थियो ।
कार्यक्रमका प्रमुख अतिथि अहमदिया संघ भारतका मुनिर अहमद हाफिजाबादी साहबले सबै धर्मसँग आबद्ध व्यक्तित्वहरु एक आपसमा बसेर श्रष्टालाई सम्झने उद्देश्यले प्रत्येक वर्ष जलसाको आयोजना गर्ने गरिएको बताए ।भारतको पञ्जाबाट हजरत मिर्जा गुलाम अहमदले १ सय २४ वर्ष पहिले कादियानबाट शुरु गरेको जलसा प्रत्येक वर्ष २ सय ९ वटा देशमा आयोजना गर्ने गरिएको जानकारी दिदै उनले अहमदिया मुस्लिम जमात एक विशुद्ध धार्मिक तथा अध्यात्मिक जमात भएको र यसको राजनीतिसँग कुनै सरोकार नभएको बताए ।
कार्यक्रममा क्रिश्चियन समाज नेपालका अध्यक्ष प्रेम घिमिरे , ब्रहम कुमारी राजयोग सेवा केन्द्रका धर्मगुरु कुमेस कुमार, सिख समाज नेपालका अध्यक्ष रंजित सिंह लगायतले सबै धर्मगुरु र पवित्र पुस्तकको सम्मान गर्नु पर्नेमा जोड दिए । अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा जमात अहमदिया संघका सदर मोइन अहमद , पर्सा क्षेत्र नंबर ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री , विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योति चौरसिया, पुर्व उपाध्यक्ष किरण गुप्ता,वडा अध्यक्ष मोहन राउत अहिर लगायतको सहभागिता रहेको अहमदिया संघ नेपाल पर्साका इन्चार्ज हासिम अहमदले बताए ।