वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा भएको सवारी दुर्घटनामा १८ महिने शिशुको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१० पानीट्यांकी बस्ने राजिव कुमार मालीको १८ महिने छोरा रिशव मालीको मृत्यु भएको हो । ई-रिक्सा पल्टिएर भएको दुर्घटनामा परेर राजिव पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार दिउँसो ३ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १० टाउनहल नजिकै सडकखण्डमा ना.१ ह ३७४० नम्बरको ई–रिक्सा घुम्तिमा अनियन्त्रित भई पल्टिएको थियो ।
ई-रिक्सामा सवार राजिव र उनको १८ महिने छोरा रिशव मालीको टाउको तथा नाकमा चोट लागेको थियो । प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरी टोलीले घाइते दुवै जनालाई उपचारको लागि एडभान्स अस्पतालमा लगेको थियो ।उपचारका क्रममा घाइते मध्ये रिशवको नाकबाट रगत बग्न बन्द नभएपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएको थियो ।
उनको नेशनल मेडिकल कलेजमै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रहरीले वीरगञ्ज–१० आदर्शनगर बस्ने ३५ वर्षीय राम सुन्दर दास तत्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।