वीरगंज । वीरगन्जमा बुधबारदेखि प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । सातै प्रदेशका खेलाडीले सहभागिता जनाएको प्रतियोगिताको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मेयर सिंहले फरक क्षमता राख्ने दृष्टिविहीनहरुको क्षमता उजागर गर्न महानगर जहिल्यै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
उनले खेलको माध्यमबाट देशको पहिचान कायम गराउने गरी प्रतियोगितामा प्रतिष्पर्धा गर्न पनि सुझाव दिए । नेपाल नेत्रहीन क्रिकेट संघ र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजना र वीरगन्ज महानगरपालिका र आइजको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा सातै वटै प्रदेशका खेलाडीहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा बुधबार मधेस प्रदेश र प्रदेश नम्वर १ सुनसरी बीच प्रतिष्पर्धा भइरहेको छ । प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेता टिमले १० हजार रुपैयाँ नगद प्राप्त गर्ने नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए ।