इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन लक्ष्यसहित धमाकेदार प्रदर्शन गरिरहेको आर्सनल १९औँ स्थानमा रहेको एभर्टनसँग स्तब्ध हुँदा अन्य टिमलाई भने प्रत्यक्ष रूपमा फाइदा पुगेको छ ।
शनिबार राति भएको खेलमा आर्सनल रेलिगेसनको खतरामा रहेको एभर्टनसँग १–० गोलले स्तब्ध बनेको हो । घरेलु टिम एभर्टनसँग आर्सनलले ७१ प्रतिशत बल पोजिसनमा राखे पनि हार टार्न सकेन । १९औँ खेलसम्म एक खेलमा मात्रै हार ब्यहोरेको आर्सनललाई यो हारले ठूलो धक्का लागेको छ ।
खेलको ६०औँ मिनेटमा जेम्स टार्कोस्कीले गोल गर्दै आर्सनलविरुद्ध एभर्टनलाई जित दिलाए । उनकै गोलको कारण एभर्टन १९औँ स्थानबाट १८औँ स्थानमा उक्लिएको छ ।
बलियो मानिएको आर्सनलले भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग आठ अंकको अग्रता बनाउने मौका गुमाएको छ । शीर्ष स्थानमा रहेको आर्सनलको २० खेलबाट ५० अंक छ । आर्सनलले १६ खेलमा जित निकाल्दा दुई खेलमा हार र दुई खेलमा बराबरी खेल्दै जारी सिजनमा सबैलाई अचम्मित बनाएको छ ।
आर्सनलको हारसँगै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी, तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड, चौथो स्थानमा रहेको न्युक्यासल, पाँचौँ स्थानमा रहेको टोटेनहम, छैटौँ स्थानमा रहेको ब्राइटन लगायतका टिमलाई फाइदा पुगेको छ । आर्सनलको हारले शीर्ष चारभित्र पर्ने लक्ष्य बनाएका क्लबहरूलाई केही राहत मिलेको छ ।
लिगको दोस्रो स्थानमा रहेको सिटीको २० खेलबाट ४५ अंक छ । तेस्रो स्थानमा रहेको युनाइटेडको २१ खेलबाट ४२ र चौथौ स्थानमा रहेको न्युक्यासलको २१ खेलबाट ४० अंक छ ।