काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । नागरिकमा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने उहाँकाे भनाइ छ ।
बिहीवार काठमाण्डाैकाे टेकुमा रहेकाे स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा मन्त्री गिरीले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो सञ्चारमाध्यममा आउने गरेको उल्लेख गर्दै अब त्यस्तो गरेको पाइए सह्य नहुने चेतावनी दिनुभयाे । कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहित स्वार्थमा काम हुने गरेको पाइएको बताउँदै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘खरिद प्रक्रियाको विषयलाई लिएर अनेक समाचारहरू बन्ने गरेका छन् । खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्ने गरी यहाँहरूले काम गर्नुहोला । भोलि कहीँ कतै यस्ता गुन्जायसहरू देखिए भने, रहे भने त्यति बेला तपाईँहरूलाई कसैले बोक्नेवाला छैन । साथ दिनेवाला छैन । यो धेरै संवेदनशील विषय छ । सबैको यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
मन्त्री गिरीले नागरिकप्रति उत्तरदायी भएर सेवा प्रवाहको काम गर्न स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्वास्थ्य उपकरणहरूको दुरुपयोग नगर्न पनि मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने बताउनुभयो । विभागले महँगोमा उपकरण खरिद गर्ने तर नागरिकले त्यसबाट सेवा नपाउने अवस्था आइरहेकाले त्यस्तो अवस्था आउन नदिने गरी काम गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री गिरीले नागरिककाे गुनासोलाई सम्बोधन हुने गरी आवश्यक योजना बनाएर काम गरे आफूले त्यसमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले आफू मातहतका निकायले सम्पादन गरेका कामबारे मन्त्री गिरीलाई जानकारी गराउनुभएको थियो ।