बारा | बाराको गढीमाई मेलामा शुक्रवारसम्म एक लाखभन्दा बढी भक्तजनले मन्दिरमा दर्शन गरेको बताइएको छ।दशैं, तिहार, छठदेखि नै गढीमाई मन्दिरमा दर्शन गर्नेहरूको भीडभाड बढेको थियो । मङ्सिर १ गतेदेखि एक महीनाको लागि लाग्ने मेलामा आजसम्म एक लाखभन्दा बढीले दर्शन गरेको अनुमान गरिएको छ ।
एक सातादेखि दैनिक ५ हजारभन्दा बढी श्रद्धालु भक्तजनले मन्दिरमा पूजापाठ तथा दर्शन गरेको मेलाका मिडिया संयोजक मुकेश यादवले बताए । “अहिले यकिन भन्न गा¥हो छ, तर पछिल्लो समय जुन हिसाबले मन्दिरमा श्रद्धालु भक्तजनको भीडभाड बढ्दै गएको छ, एक लाखभन्दा बढीले दर्शन गरेको हुन सक्छ,” उनले भने । मेला समितिका पदाधिकारीहरूले भने दशैंदेखि करीब २ लाख श्रद्धालुहरू पूजा गर्न आइसकेका छन् ।
मेलामा ६ सयभन्दा बढी पसल लागिसकेका छन्, मेलामा मौतका कुवाँ, सर्कस, झुला, वैष्णोदेवीको कृत्रिम घरबार तथा मनोरञ्जनका साधनहरू आइसकेका छन् । मन्दिरभन्दा पूर्व, दक्षिण, पश्चिमको करीब एक किलोमिटरसम्म प्रतिवर्गफिट क्षेत्रफलको रु ५ सयको दरमा मेला समितिले ठेकेदारमार्पmत् जग्गा लिजमा दिइरहेको छ । जग्गाको टेन्डर मेला समितिले रु ५५ लाखमा गरेको छ भने करीब डेढ करोड रुपैयाँमा मनोरञ्जनको स्टल लगाउन दिइएको छ ।
मेलामा श्रद्धालु भक्तजनको अत्यधिक भीडभाडले गर्दा मेला व्यवस्थापनमा चुनौती थपिएको छ । मेलामा महिला तथा युवतीहरूलाई असुरक्षाको माहोल पनि हुने गरेको स्थानीय गाउँलेहरूले बताएका छन् । सोलाई मध्यनजर राख्दै मेला समिति तथा स्थानीय प्रहरी प्रशासनसँग मिलेर १ हजारभन्दा बढी सुरक्षाकर्मी खटाउने र सिसिटिभीबाट पनि निगरानी गर्ने जनाएको छ ।