वीरगंज । अपहरणपछि हत्या भएका जनकपुरधामका विष्णु र रोहित साहको आइतबार मध्यराति नै दाहसंस्कार गरिएको छ । रतनसागर पोखरीको डिलमा दुबै जनाको दाहसंस्कार गरिएको छ । साहद्वयको शव राति १ बजे आएको थियो । शव धेरै कुहिएको हुनाले राति नै दाहसंस्कार गरिएको मृतक विष्णुको आफ् न्त देवनारायण साहले बताए । दुबै जनालाई हजुर बुबाले दागबत्ती दिएका थिए ।
विष्णुको हजुर बुवा राककिशोर साह र रोहितको हजुर बुवा पृथ्वी साहले दागबत्ती दिएका थिए । जनकपुरधाम उपमहानगरपालिका १३ का विष्णु र वडा नम्बर ८ का रोहित साह गत पुस २६ गते भारत गएका थिए । उनीहरु ज १२ प ८०४ नम्बर प्लेटको पल्सर मोटरसाइकल लिएर गएका थिए । सोही मोटरसाइकल दुर्घटना हुँदा उनीहरु स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराएका थिए । सोही ठाउँबाट उनीहरु अपहरणमा परी हत्या भएको परिवारजनको आशंका छ ।
परिवारजनले रोहित विष्णुलाई लिएर मामाको घर परिहार गएका थिए । तर खोजतलासमा खटिएका प्रहरीले उनीहरु आफ्न्तमा नगएको दाबी गरेका छन् । खोजतलासमा खटिएको प्रहरीले उनीहरुको शव ठूलो पर्खालले घेरिएको टिक रुखको बगैचामा गाडिएको अवस्थामा बरामद गरेका थिए । उनका अनुसार खाल्डो खनी शव गाडिएको थियो । र, शव छिटो कुहिनका लागि खाने नुन प्रयोग गरिएको थियो ।