वीरगंज । आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेका दुईजना अझै फेला पर्न सकेका छैनन् । सम्पर्कविहीन रहेका उनीहरूको आज पनि खोजी जारी रहने कार्कीका जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जानकारी दिए । दुर्घटनामा परी सम्पर्कविहीन रहेका दुईजना यात्रु खोज्न दुर्घटनाको तेस्रो दिन आज पनि गोताखोरसहित चारवटा ड्रोनको प्रयोग गरिने एसपी केसीले बताए ।
सोमबार ड्रोन प्रयोग गरी दुईजनाको शव फेला परेको थियो । दुर्घटनाको पहिलो दिन आइतबार ६३ र दोस्रो दिन सोमबार सातजनाको शव फेला परेको थियो । आइतबार बिहान साढे १० बजे काठकाडौंबाट पोखराका लागि उडान भरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।
सो विमानमा चार चालक दलका सदस्य र ६८ यात्रुसहित ७२ जना सवार थिए । अहिलेसम्म दुर्घटनाग्रस्त विमानमा रहेका ७० जनाको शव फेला परेको छ । फेला परेका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शव सनाखत र पोस्टमार्टमपछि सोमबार साँझबाट मृतकका आफन्तलाई बुझाउन थालिएको छ ।