वीरगंज । खासगरि थारु समुदायको मुख्य चाड मानिने माघी (खिंचडी) पर्व वीरगन्जमा भने थारुसँगै भोजपुरी, मैथिली, मारवाडी र नेवारी समुदायले सँगसँगै मनाएका छन्। यसअघिका वर्षहरूमा माघ १ गते वीरगन्जमा थारु समुदायको एकल आयोजनामा माघी (खिंचडी) महोत्सव आयोजना हुँदै आएको थियो।
तर यसपालि भने आइतबार थारुसँगै भोजपुरी, मैथिली, मारवाडी र नेवार समुदायले एकैथलोमा खिंचडी समारोह आयोजना गरेर सँगसँगै माघी पर्व मनाएका हुन्। वीरगन्जको आदर्शनगरस्थित पुरानो बसपार्क परिसरमा माघी मूल समारोह समितिले आयोजना गरेको खिंचडी महोत्सवमा यी समुदायका खानाका परिकारहरूको स्टल राखिएको थियो।
थारु समुदायको स्टलमा घोङगी, गंगटा, माछा, हाँस, परेवा र कुखुराको मासुका परिकार राखिएको थियो। भोजपुरी समुदायको स्टलमा तिल र भुजाको लड्डु, मैथिलीको स्टलमा खिंचडी, नेवारको स्टलमा यमरी लगायतका परिकार राखिएका थिए।