जनकपुर । अंग्रेजी नयाँ वर्षको सुरुवातदेखि जनकपुरधामका होटेल तथा लज भरिभराउ छन्। भारतको विभिन्न स्थानबाट दर्जर्नाै गाडीमा भारतीय पर्यटक आउँदा यहाँको धर्मशाला तथा होटेल र लजहरू भरिभराउ भएका हुन्। मधेस प्रदेशमा घुम्न आउने पर्यटकको संख्यामा अढाई सय प्रतिशतले वृद्धि भएको छ। आठवटा जिल्ला रहेको मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा २० हजार ७ सय ३३ जना आएका छन्। नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन २०७९ का अनुसार गत वर्षको तुलनामा यस वर्ष २५४.५९ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको छ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा भने यस प्रदेशमा पर्यटक आउनेको संख्या ५ हजार ८ सय ४७ मात्र रहेको थियो। गत वर्ष ५७.३५ प्रतिशतले पर्यटक आगमनको संख्यामा ह्रास आएको थियो। समीक्षा वर्षमा पर्यटक आगमन संख्यामा उल्लेखनीय वृद्धि हुनुमा कोभिड—१९ को असर कम हुनु हो। त्यतिबेला पर्यटक आगमन ठप्प रहेकोमा सोको कोभिडको प्रभाव विस्तारै कम हुँदै गएर पर्यटक आवागमनमा सहजता आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। २०७८/०७९ मा आउने पर्यटकमध्ये ९०.६९ प्रतिशत पर्यटक भारतीय नागरिक छन्। यस्तै, चीनबाट १.८३ प्रतिशत र तेस्रो मुलुकबाट ७.४८ प्रतिशत पर्यटक आएको प्रतिवेदनमा उल्लेख छ। समीक्षा वर्षमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भए पनि भारतबाट आउने पर्यटकको संख्यामा कमी आएको प्रतिवेदनले देखाएको छ।
मधेस प्रदेशमा पर्यटकको संख्यामा वृद्धि हुँदा प्रदेशको पर्यटक स्तरीय होटलमा कार्यरत कर्मचारीको संख्यामा वृद्धि भएको हो। समीक्षा वर्षमा ३६.४३ प्रतिशतले होटेलमा कार्यरत कर्मचारीको संख्यामा वृद्धि भएको छ। २०७७/०७८ मा २६.७० प्रतिशतले यस क्षेत्रमा रोजगारीमा ह्रास आएको थियो। भारतको बिहार, यूपी, आगरालगायतका स्थानबाट पर्यटक नयाँ वर्ष मनाउन जनकपुरधाम आउने क्रम निरन्तर भएपछि यहाँको होटेल तथा लज भरिएको हो। तर, यहाँ घुम्न आए पनि उनीहरू सीमित स्थानमा घुमेर फर्कने गरेका छन्। मधेस प्रदेशको पर्यटकीयस्थलको प्रचारप्रसार नहुँदा यहाँ आउने पर्यटक जनकपुरधामको जानकी मन्दिरमा दर्शन गरेर फर्कने गरेका छन्। उद्योग, पर्यटन तथा वन मन्त्रालय मधेस प्रदेशका सचिव विशाल घिमिरेले उद्योग, पर्यटन र वनसँगसँगै परेका कारण पर्यटन कम्लेक्स विषय बनेको बताए। उनले पर्यटन यस प्रदेशको प्राथमिकतामा रहेको बताए। नीति तथा कार्यक्रम र बजेटमा उल्लेख्य भए अनुरूप यसै वर्षदेखि प्रदेशको तीन स्थानमा पर्यटनका लागि कार्यालय स्थापना गरिएको बताए। उनले मधेसको रहनसहन र भारतको बिहार, यूपीको रहनसहन, धर्मसंस्कृति एकै प्रकारको रहेकाले बढीभन्दा बढी पर्यटक भित्र्याउनुपर्ने आवश्यकता रहेको बताए।