रौतहट । कुमार चन्दन । रौतहटमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा यमुनामाइ गाउँपालिका ५ झुनखुनवा टोल फतुवाका ७० वर्षिय वृद्ध लालमहम्द मियाँ कवारी रहेका छन् । जुम्माको दिन शुक्रवार दिउँसो नामाज पढेर घर फर्किने क्रममा एक्कासी चिसोले कठ्यांग्रिएर मृत्यु भएको मृत्कका छोरा कलाम मियाँ मन्सुरीले जानकारी दिए ।
रौतहट लगायत तराई मधेशका जिल्लामा लगभग दुई साता देखी घामले अनुहार नदेखाउँदा जनजीवन पूरै प्रभावित भएको छ । दिनभर पश्चिमी हावा चल्ने तथा बाक्लो कुहिरो लागेर भिजिबिलिटी पनि निकै कम हुनाले जनजीवनको सबै क्षेत्रमा प्रभाव परेको देखिएको छ ।
अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारण मानिसहरु बिरामी पर्न थालेका छन् ।बढेको शितलहरी र बाक्लो हुस्सुका कारण गरिब, दलित, विपन्न, बालबालिका तथा वृद्धवृद्धा लगायत दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने परिवारको जनजीवन कष्टकर बनेको छ ।