सप्तरी : भारतको पञ्जावस्थित मण्डि गोबिन्दगर्हमा रहेको रिम्ट युनिभर्सिटीको लापरवाहीले एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी महदेवा गाउँको अन्दाजी १८ वर्षीय हेमन्त मण्डल रहेको युनिभर्सिटीमा अध्यनरत एकजना नेपाली विद्यार्थीले अन्नपूर्णलाई जानकारी दिएका छन्।विद्यार्थीका अनुसार मृत भनिएका हेमन्त बुधबार बेलुका ९ बजेदेखि युनिभर्सिटी परिसरमा देखिएका थिएनन्।
नाम नखुलाउने शर्तमा एकजना नेपाली विद्यार्थीले उनलाई युनिभर्सिटीले नै बेपत्ता बनाएको हुनसक्ने आंशका व्यक्त गरे । उनले भने, ‘हेमन्तको दिउँसोदेखि पेट दुखिरहेको थियो तर युनिभर्सिटीका वार्डेन मोहन सिंहले अस्पताल जानै दिएनन्।’
उनका अनुसार वार्डेन सिङले हेमन्तलाई ५ सय रुपैयाँ दिए मात्र अस्पताल जान दिने भन्दै दु:ख दिएका थिए । सोही युनिभर्सिटीमा अध्यनरत अन्य नेपाली विद्यार्थीले हेमन्तका बारे बुझ्न जाँदा प्रशासनले सयभन्दा बढी प्रहरी लगाएर विद्यार्थीमाथि दमन गरेको छ ।
प्रहरीले विद्यार्थीमाथि कुटपिट गर्नुका साथै केही विद्यार्थीलाई लगेर गएको त्यहाँका विद्यार्थीले जानकारी दिए । एक विद्यार्थीले भने, ‘हामीले केही सोधे प्रहरी कोठामै पसेर पिट्न थाल्छन्, त्यही डरले हामी चुप लागेर बसेका छौं, ‘नभए हामीलाई पनि युनिभर्सिटी प्रशासनले बेपत्ता बनाउन सक्छ।’
रिम्ट युनिभर्सिटीमा ३ सय बढी नेपाली विद्यार्थी अध्यनरत छन्।अहिले युनिभर्सिटी प्रशासनले वार्डेन सिंहलाई गोप्य रुपमा लुकाएर राखेको खुल्न आएको छ।