जनमोर्चाले सुरु गर्यो धनगढी कालापानी मोटरसाइकल र्याली
वीरगंज संजाल
११ मंसिर २०७६, बुधबार १४:२३
५७५१
धनगढी | हालै भारतले जारी गरेको राजनीतिक नक्सा सच्याइ तत्कालै कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाइनु पर्ने माग राख्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीबाट कालापानी मोटरसाइकल अभियान २०७६ सुरु गरेको छ ।
नेपाली भूमिको रक्षा गर्न सरकारलाई दबाब दिने उद्देश्यले सो अभियान सञ्चालन गरिएको राष्ट्रिय जनमोर्चाका प्रदेश सचिव लक्षिराम आचार्यले बताए । अभियानमा एक सय बढी मोटरसाइकल प्रयोग गरिने उनले बताए ।
अभियान उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले सरकारको नेतृत्व गर्ने दलको मौनताका कारण नेपाली भूमिमाथि भारतले हस्तक्षेप गर्ने गरेको आरोप लगाए ।
‘कालापानीमा भारतीय सेना बसेपछि ३५ सरकार परिवर्तन भएका छन्’ उनले भने–‘तर कुनै पनि सरकारले कालापानी हाम्रो भूमि हो भन्न सकेनन्, जसको फाइदा भारतले उठाउँदै आएको छ । शत्ता बचाउने आशमा सरकारमा रहेका राजनीतिक दलले भारतविरुद्ध बोल्न नसकेको उनको भनाई छ ।
यद्धपि वर्तमान सरकारले थोरै भएपनि पहल चालेका बताउँदै उनले सो प्रयास प्रयाप्त नभएको बताए । ‘हामीले सरकारलाई दबाब दिन अभियान थालेका छौं’ उनले भने–‘यो अभियानमा सवै नेपालीले साथ दिनु आवश्यक छ ।’
जनमोर्चा सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले अतिक्रमित नेपाली भूमि फिर्ताका लागि जनदबाब सिर्जना गर्ने तथा आफ्नो भूमि फिर्ता ल्याउन सरकारले तत्कालै कदम चालोस भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए ।
अभियान कार्यतालिका अनुसार बुधबारदेखि सुरु भएको अभियान अन्तरगत बुधबार नै अत्तरिया तथा बुडरमा र्याली र सभाको आयोजना गरिने छ । यसै गरी मंसिर १२ गते डडेलधुरा र बैतडीको पाटनमा पनि र्याली तथा सभा संचालन गरिने छ ।
यसै गरी १३ गते दार्चुलाको खलङ्गा, १४ गते दाचुर्लाकै गोकुलेश्वर, १५ गते बैतडीको गोठालापानी र डोटीको दिपायलमा र्याली र सभाको आयोजना गरिने छ । अभियानको समापन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय अध्यक्ष चित्रबहादुर केसीले महेन्द्रनगरमा मंसिर १७ गते गर्ने कार्यक्रम रहेको जनमोर्चाका प्रदेश सचिव लक्षिराम आचार्यले बताए ।