महोत्तरीपोस्ट,महोत्तरी।महोत्तरी जिल्लाको दुई प्रमुख सडकखण्ड दुई दिनदेखि बन्द रहेको छ । जिल्लाको जलेश्वर–बर्दिबास र जलेश्वर–सम्सी सडकखण्ड विगत दुई दिनदेखि बन्द भएको हो ।
ती सडकखण्डमा चल्ने बसहरुलाई ती सडकखण्डमा पर्ने विभिन्न गाउँमा स्थानीयहरुले जथाभावीरूपमा ठाउँठाउँमा रोकेर सडक बनाएपछि मात्रै बस चलाउन भनेको तथा बसका कर्मचारीहरुसँग अभद्र व्यवहार गरेको भन्दै बस व्यवसायीहरुले नै ती सडकखण्डमा विगत दुई दिनदेखि बस सेवा बन्द गरेको बताएका छन् ।
यता दुवै सडकखण्डमा जथाभावी बस, ट्रक, टिपर, ट्र्याक्टरलगायतका साधनहरु चलेर जीर्ण भइसकेको अवस्थामा सडकपेटीका घरहरुमा धुलो धुँवा पसेर विभिन्न रोगहरुको सङ्क्रमण बढेको तथा स्थानीयहरु धुलो धुँवाले हैरान भएपछि सकड निर्माणपछि मात्रै सवारी साधन सञ्चालनको माग गर्दै विभिन्न ठाउँमा चक्काजाम गरेपछि विगत दुई दिनदेखि ती दुवै सडकखण्डमा यातायात सेवा बन्द भएको हो ।
यसैबीच जिल्लाकै प्रमुख दुई सडकखण्डमा यातायात सेवा बन्द हुँदा हजारौँ यात्रीहरुलाई जिल्ला सदरमुकाम पुग्न तथा जिल्ला बाहिरबाट अन्य स्थानमा जान पनि निक्कै सास्ती बेहोर्नु परेको छ ।