जनकपुरधाम । सीताराम विवाह महामहोत्सव (विवाहपंची)को दोस्रो दिन आज( बुधबार) फूलबारी लीला हुने छ ।त्रेताकालमा भगवान् राम र सीताको विवाह महोत्सवको बेला विवाह पूर्व भएको फूलबारीमा भेट घाटको सम्झना गर्दै आज जानकी मन्दिर छेउमै रहेको विवाह मण्डपको फूलबारीमा ‘फूलबारी लीला’ हुने गर्दै छ ।
मिथिलाको परम्परा अनुसार मैथिली गीत, नादसहित आज दिउसो भगवान् राम, सीता र लक्ष्मणको प्रतीक झाँकी बनाएर फूलबारीमा भेट घाट हुने र त्यस क्रममा हजाराैँ व्यक्तिहरूको उपस्थिति रहने गर्दछ ।
सातदिने हुने कार्यक्रम अनुसार विवाह पंचमी महोत्सवको पहिलो मंगलबारका दिन जानकी मन्दिर प्राङ्गणमा ‘नगर दर्शन’ विधि सम्पन्न भएको छ भन्ने तेस्रो दिन १२ गते बिहीबार रंगभूमि मैदान बराहबीघामा धनुषयज्ञ हुने मूल आयोजक कमिटीले जानकारी दिएको हो ।
त्यस्तै चौथो दिन १३ गते शुक्रबार राम मन्दिर प्राङ्गणमा भव्य मञ्च बनाएर तीलकोत्सवको कार्यक्रम हुने छ ।त्यसै दिन गणतन्त्र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको समेत जनकपुर आएर भारतको अयोध्याबाट आएका रामको जन्तीलाई स्वागत गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीले जानकी मन्दिर पूजा आज गरी रंगभूमि मैदान बराहबिघामा आयोजित कार्यक्रममा समेत सहभागी हुने जानकी मन्दिरले जनाएको छ ।
पाँचौँ दिन १४ गते शनिबार जनकपुरको ऐतिहासिक गङ्गा सागर पोखरीमा मिथिलाको परम्परा अनुसार मटकोर विधि हुने छ । त्यस्तै मुख्य कार्यक्रम छठौं दिन १५ गते आइतबार भगवान् राम र सीताको स्वयंवर तथा शुभ विवाह जानकी मन्दिर प्राङ्गणमा हुने छ ।
सातौँ दिन १६ गते सोमबार “राम कलेवा” जानकी मन्दिर प्राङ्गणमा गरी अयोध्याबाट आएका जन्तीलाई बिदाइ गरेर विवाह पंचमी समापन हुने छ ।