वीरगंज । धेरै अघिदेखि वैज्ञानिक धर्तीबाहेक अन्य ग्रहमा पनि जीवनको खोजी गरिरहेका छन् । एलन मस्कले त सन् २०५० सम्म मंगल ग्रहमा मानिसको कोलोनी बनाइछाड्ने घोषणा गरेका छन् । नासासमेत थुप्रै अन्य संस्थाले पनि यसबारे कुरा गर्दै आएका छन् । तर यो त्यतिबेला सफल हुनेछ जब अन्तरिक्षमा मानिसको जन्म पनि हुनसक्छ । तर के जिरो ग्राभिटीमा शिशुको जन्म सम्भव छ ? यदि यस्तो हुन्छ भने के आमा सुरक्षित हुनेछिन् वा पूर्ण रुपमा भिन्न वातावरण र विकिरणबाट अन्तरिक्षमा जन्मिएको बच्चा एलियनजस्तो देखिनेछ । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।
सन् २००० देखि अहिलेसम्म अन्तरिक्षमा लगातार मानिसको आवतजावत रहँदै आएको छ । यो समयमा कुनै न कुनै देशका एक अन्तरिक्षयात्री अन्तरिक्षमा पुगेकै छन् । त्यसैले यो निश्चित भइसकेको छ कि हामी अन्तरिक्षमा जानु त्यति पनि मुश्किल छैन तर हाल हामी यो नतिजाको आसपास पनि पुग्न सकेको छैनौँ कि अन्तरिक्षमा यदि बच्चा जन्मियो भने कस्तो हुनेछ । वा यस्तो हुनसक्छ कि सक्दैन ।
कस्ता समस्या आउनेछन् ?
अन्तरिक्षमा सम्बन्ध स्थापित गर्दा महिला अन्तरिक्षयात्री गर्भवती त हुन सक्छिन् तर अन्तरिक्षको वातावरणले भ्रुणसँग ठूलो खेलवाड गर्न सक्छ वा जन्मिएलगत्तै उसको मृत्यु पनि हुनसक्छ । नासाको आधिकारिक नीति पनि यस्तै कारणलाई मध्यनजर गर्दै हाल अन्तरिक्षमा यौनसम्बन्ध स्थापित गर्न अनुमति दिँदैन । यति हुँदा हुँदै पनि हामी यो बुझ्ने कोसिस गरौँ कि यदि महिला गर्भवती भएपनि कस्ता समस्या आउन सक्छन् ?
मुसामाथि प्रयोग
वैज्ञानिकले अन्तरिक्षमा मानिसको गर्भाधान अघि त्यहाँको विकिरणले वीर्यमाथि कस्तो असर गर्छ भनेर थाहा पाउन परीक्षण गरे । इन्टरनेशनल स्पेस स्टेशनले आफूसँग मुसाको फ्रिज–ड्रायड स्पर्म लिएर गयो र ६ वर्षपछि फिर्ता ल्याएर धर्तीमा त्यसलाई फर्टिलाइज गरायो । जम्मा १६८ मुसाको जन्मपछि वैज्ञानिकले अनुसन्धानमा के पाए भने कसैमाथि पनि विकिरणको कुनै असर थिएन । यो शोध अघिल्लो वर्षको अन्तिमा साइन्स एडभान्सेज जर्नलमा प्रकाशित भयो । यसले यो निश्चित भयो कि अन्तरिक्षमा कस्मिक रेन्जको असर मुसामा त परेन तर यो हुँदा पनि जन्म हुने सम्भावना रहँदैन ।
अन्तरिक्षमा गर्भाधान भइहाल्यो भने पनि जिरो–ग्राभिटीले सबैभन्दा धेरै समस्या दिनेछ
अन्तरिक्ष यात्रीको हड्डीको घनत्व (बोन डेन्सिटी) तीब्र रुपमा घट्छ अर्थात् हड्डी कमजोर हुन्छ । यो प्रक्रिया यति तीब्र गतिमा हुन्छ कि यदि तपाईं अन्तरिक्षमा ६ महिना मात्रै बस्नुभयो भने पनि १२ प्रतिशतसम्म बोन डेनसिटी समाप्त हुन्छ । यस्तोमा प्रसवका बेला पेल्विक फ्लोरमा दबाब बढ्दा गर्भवतीको हड्डी भाँच्चिन सक्छ वा आन्तरिक रक्तश्राव हुनसक्छ । स्मरण रहोस्, पेल्विक फ्लोर शरीरको त्यो हिस्सा हो जसमा पाठेघर, यौनाङ्ग, मलाशय र मुत्रथैली समावेश हुन्छ ।
यस्ता कुरामा असर पर्नेछ
एकछिनका लागि यी सबैकुरा ठिक छ भनेर सोच्नुहुन्छ भने पनि अन्तरिक्षको बच्चा धर्तीमा जन्मिएका बच्चाभन्दा भिन्न हुने सम्भावना धेरै हुन्छ । जस्तै गुरुत्वाकर्षण बिना नै विकास हुने भएकोले उसको शरीर भिन्न हुनसक्छ । विशेषगरी उसको टाउको ठूलो हुने सम्भावना धेरै नै रहन्छ । यो सम्भावना त्योबेला झन् बढ्ने गर्छ जब अन्तरिक्षमा लगातार मानिसको जन्म हुन थाल्छ किनभने उनीहरुको नर्मल डेलिभरी नभई शल्यक्रियामार्फत् जन्म हुनेछ । यहाँ बुझ्नुहोस् कि गुरुत्वाकर्षण बिना नर्मल डेलिभरी सम्भव नै छैन ।
शिशुको छालामा पनि असर पर्नसक्छ
धर्तीमा सूर्यको अल्ट्राभोयलेट किरणबाट बचाउनका लागि हामीभित्र मेलेनिन बन्ने गर्छ जसका कारण हाम्रो छाला कालो वा गोरो हुन्छ । तर अन्तरिक्षमा कस्मिक किरणबाट बच्नका लागि गर्भवति यानभित्र नै बस्नुपर्ने हुन्छ । यसले जन्मिने शिशुको रङ छाला एकदम पारदर्शी हुनसक्छ किनभने उभित्र मेलानिन नै हुने छैन । अन्तरिक्षमा जन्मिएको शिशु धर्तीमा जन्मिएका बच्चाभन्दा यति भिन्न हुन्छन् कि उनीहरु पूर्ण रुपमा एलियनजस्ता देखिनेछन्, अर्थात् हामीभन्दा भिन्न ।