वीरगंज । प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कसरत सुरु भएको छ ।यो कसरतमा नेपाली काँग्रेस पर्साका सभापति समेत रहेका नवनिर्वाचित प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्र पनि लागेका छन् । मधेस प्रदेशमा समानुपातिकतर्फको सिट बाँडफाँट नटुंगिए काँग्रेस नेतृत्वकै सरकार बन्ने प्रबल सम्भावना छ । त्यसो हुदा मुख्यमन्त्रीमा क्षेत्रीको प्रबल सम्भावना रहेको चर्चा चल्न थालेको छ । मधेस प्रदेशमा प्रत्यक्षतर्फका ६४ सिटमध्ये एमालेले १५, कांग्रेसले १३, जसपाले ९, लोसपाले ७, जनमत पार्टीले ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४–४ सिट जितेका छन् । विभिन्न दलबाट बागी उठेका ६ जनाले स्वतन्त्र रूपमा जितेका छन् । प्रत्यक्षतर्फ २९ सिट जितेको काँग्रेस नेतृत्वको सत्ता गठबन्धनले समानुपातिकतर्फ करिब २० सिट ल्याउने आकलन गरिएको छ । प्रत्यक्षतर्फ २२ सिट जितेको एमाले–जसपा–राप्रपा गठबन्धनले समानुपातिकमा १९ सिट पाउने आकलन गरिएको छ ।
त्यसैगरी प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा करिब ४ सिट पाउने देखिन्छ । यसरी हेर्दा प्रदेशसभाको सत्ता समीकरणको अंकगणित मिलाउन जनमत पार्टीको सिट संख्या निर्णायक हुने देखिन्छ । उसले सरकार गठनमा काँग्रेस नेतृत्वकै गठबन्धनलाई साथ दिने प्रबल सम्भावना पनि देखिएको छ । एमाले र जसपा सहकार्यले निरन्तरता नपाउने अवस्थामा मधेसको सत्ता समीकरण सत्ता गठबन्धनकै पक्षमा हुने आकलन गरिएको छ । सत्ता गठबन्धनको सरकार बन्ने अवस्था आएमा मुख्यमन्त्रीका लागि काँग्रेस पर्साका सभापति क्षेत्री प्रमुख दाबेदार देखिएका छन् ।काँग्रेसबाट क्षेत्रीसंगै रौतहट १ (२) बाट निर्वाचित कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव र धनुषाबाट निर्र्वाचित पूर्वमन्त्री रामसरोज यादव पनि दाबेदार देखिएका छन् । तर यी तीन मध्ये काँग्रेसबाट आफु नै प्रबल दाबेदार रहेको पर्सा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित क्षेत्री बताउछन् । क्षेत्रीले काँग्रेसबाट मुख्यमन्त्रीका लागि आफनो दाबेदारी रहेको बताए । उनले भने ,‘ पार्टीमा कृष्ण यादव जी म भन्दा जुनियर हो ,
पार्टीमा राजनीतिक लगानी र योगदानका साथै योग्यता सबैमा म उहा भन्दा सिनियर हो , रामसरोज जी भने मेरा समकक्षी हुनुहुन्छ । मुख्यमन्त्री बन्न पहिले पार्टीको संसदीय दलकाो नेता बन्नु पर्ने भएकाले यसका लागि आफुले पार्टीमा दाबेदारी प्रस्तुत गरिसकेको पनि क्षेत्रीले बताए । क्षेत्रीले भने ,‘ यस बारे मैले पार्टी सभभापति ज्यसंग कु्रा गरिसकेको छु , पार्टी नेतृत्व म प्रति निक्कै सकरात्मक पनि छ । उनले संसदीय दलको नेता र मुख्यमन्त्रीका लागि पार्टी भित्र आफनो पक्षमा माहौल पनि बन्दै गइरहेकोे बताए । यता जसपाले पनि अप्रत्याशीत रुपमा सत्ता गठबन्धनसँग निकटता बढाउँदै हालका मुख्यमन्त्री लालबाबु राउतलाई निरन्तरता दिने प्रयास गरेको छ । उता जनमत पार्टीले पनि मुख्यमन्त्रीमा आफनो दलको दाबी गरिरहेको खबरहरु पनि विभिन्न सन्चारमाध्यमबाट आइरहेको छ ।