वीरगंज । चुनावी परिणामको अन्तिम नतिजा सार्वजनिकपछि गण्डकीमा सरकार गठनको गृहकार्य थालिएको छ । ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व आफूले गर्न पाउने जिकिर पेस गरेका छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र हुन् । गत ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत गण्डकीका सबै क्षेत्रको अन्तिम परिणाम सार्वजनिकमा नेपाली कांग्रेस ठूलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ भने एमालेले १२ सिट जित्दै दोस्रो दल बनेको छ । २०७४ सालको चुनावमा एमाले पहिलो दल भए पनि यसपालि कांग्रेससहित पाँचदलीय गठबन्धनले एमालेलाई दोस्रो दलमा झारेको हो । माओवादी केन्द्रले ५ सिट जित्दा स्वतन्त्रतर्फ १ सिट आएको हो । यसैगरी समानुपातिकतर्फ कांग्रेस ९, एमाले १०, माओवादी ३ र राप्रपाको २ सिट हुने अनुमान छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेस एक्लैको प्रत्यक्ष र समानुपातिक गरी २७ सिट आएपछि उसले नेतृत्वमा स्वतः दाबी गरेको छ । हाल पनि कांग्रेसकै नेतृत्वमा गण्डकी सरकार चलेको छ । समानुपातिक जोड्दा एमालेको कुल २२, माओवादीको ८ र राप्रपाको २ सिट र स्वतन्त्र दीपक मनाङ्गे (हाल एकीकृत समाजवादीमा प्रवेश) १ सिट छ ।
एकल बहुमत नहुँदा ठूलो पार्टी कांग्रेसले एक्लै सरकार बनाउन सक्दैन । उसले गठबन्धनकै अर्को दल माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन सक्ने प्रवल सम्भावना छ । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि कांग्रेसले अरु ४ सिट चाहिन्छ । माओवादीको सिट सहित जोड्दा सहजै बहुमत पुग्छ । कांग्रेस नेतृत्वको सरकार बन्दा सुरेन्द्रराज पाण्डे नेतृत्वमा सरकार बन्ने आकलन छ । गठबन्धनभित्रै कांग्रेस र माओवादीले सुरेन्द्रलाई गोरखा क्षेत्र २(२) बाट भावी मुख्यमन्त्रीको रुपमा चुनाव लडाएका हुन् । तर, चुनावी परिणाम हेर्दा कांग्रेसबाट अपेक्षाकृत भोट ट्रान्सफर नभएकोमा माओवादी असन्तुष्ट छ । एमालेले बामगठबन्धनको सरकार बनाउन सक्ने सम्भावना पनि प्रवल छ । प्रत्यक्षमा १२ सिट जितेको एमालेले समानुपातिकको १० सिटसहित २२ सिट हुँदा माओवादी र राप्रपासँग मिलेर सरकार बनाउन सक्छ । एमाले नेतृत्वको सरकार बने मुख्यमन्त्रीमा दाबी खगराज अधिकारीको हुनेछ । पूर्व गृहमन्त्री बनिसकेको खगराज कास्की क्षेत्र १(१) बाट प्रदेशसभाको चुनाव जितेका हुन् । उनी २०७४ सालको चुनावमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएकोमा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई संघमा पठाएर उनी मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेश ओर्लिएका हुन् । गण्डकी प्रदेशको तेस्रो दल माओवादी केन्द्र नेतृत्वमा सरकार नबन्ला भन्न पनि सकिन्न । सिटको अंकगणितमा तेस्रो भए पनि उसले सरकार नेतृत्वको दाबी गर्ने सम्भावना रहन्छ । यसो हुँदा पार्टीबाट हरिबहादुर चुनाव मुख्यमन्त्री बन्ने छन् ।
चुनाव यसअघि प्रदेशमा आन्तरिक मामिला मन्त्रालय सम्हालेका थिए । पार्टीले उनलाई भावी मुख्यमन्त्रीको सपना दिएर तनहुँ क्षेत्र १(२) बाट चुनाव लडाएको हो । नेपालको संविधान २०७२ अनुसार धारा १६८ अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ । पहिलो विकल्प टरिसकेकोले अब दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई धारा १६८ (२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने छन् । गण्डकीमा २०७४ यता पहिलो पल्ट माओवादी समर्थनमा एमाले नेतृत्वको सरकार बनेको हो । एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङले २०७४ साल माघ २९ मा मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गरेका थिए । बामगठबन्धनको टुटफुटसँगै ढलेको उनको सरकार दोस्रो पटक मुख्यमन्त्री बन्दा विश्वासको मत लिन नसक्दा बाहिरिएका थिए । सरकार गठनको तेस्रो विकल्पसहित कांग्रेस नेतृत्वमा बनेको सरकारमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल छन् । २०७८ जेठ २९ मा आएको यो सरकारलाई माओवादी, जनमोर्चा, तत्कालीन जसपा र स्वतन्त्र सांसदको समर्थन थियो ।