वीरगंज । नेकपा एमाले निकट अनेरास्ववियुका नेता चेतन ऐडीका हत्यारालाई कारवाही गर्न अनेरास्ववियु जिल्ला कमिटी पर्साले माग गरेको छ ।बाजुराको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ स्थित मतदान स्थलमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भएको विवादलाई लिएर राति आफ्नै घरमा सुतिरहेको बेला अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य एवं अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष ऐडीको हत्या गरिएको थियो । सोही हत्यामा संलग्नलाई कारवाहीको माग गर्ने अनेरास्ववियुका नेताहरुलाई नियन्त्रणमा लिएर कानुनी राज्यको उपहास भएको आरोप अनेरास्ववियु पर्साले लगाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारीले यथाशिघ्र पक्राउ परेकाहरुलाई रिहा गर्न पनि माग गरेका छन् ।
अनेरास्ववियु बाजुरा जिल्ला अध्यक्षसहितका नेताहरुलाई झुठो मुद्दा लगाई प्रहरी हिरासतमा राख्नुले नेपाल प्रहरी र सरकारले नियोजित रुपमा अपराधिलाई संरक्षण गरेको प्रष्ट हुने पनि उक्त पत्रमा लेखिएको छ । प्रजिअ ढकालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको ध्यानाकर्षण पत्रमार्फत पक्राउ अनेरास्ववियुका नेताहरुलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । मृतकका परिवारका तर्फबाट सप्रमाण किटानी जाहेरी दिएकाहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, परिवारका सदस्यलाई उचित क्षतिपूर्ति र भरणपोषणसहित चेतन ऐडीको छोराको उच्च शिक्षा सम्मको पढाईको जिम्मा नेपाल सरकारले लिनुपर्ने, न्यायका निम्ति शान्तिपुर्ण दवाव दिँदा झुठो मुद्दा लगाइएका अनेरास्ववियु बाजुरा जिल्ला अध्यक्षसहितका नेताहरुलाई मुद्दा खारेज गरी बिना शर्त रिहाई गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।
साथै चेतन ऐडीलाई शहिद घोषणा गर्नुपर्ने, ऐडीको स्मृतिमा पार्क निर्माण गर्नुपर्ने पनि अनेरास्ववियुले माग राखेको अनेरास्ववियु वीरगञ्ज महानगर समितिका अध्यक्ष आशिफ अहमदले बताए । आफ्ना मागहरुको यथोचित सम्बोधन नभएमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि अहमदले दिएका छन् । जिल्ल अध्यक्ष रेयाज अन्सारीसँगै संघका सचीव पवन यादव, सह सचीव रामपुकार, ठाकुर राम इकाई कमिटीका उपाध्यक्ष अरमन हास्मी, सुभ नारायण राजेन्द्र साह लगायतको उपस्थितीमा ज्ञापन पत्र बुझाइएको अनेरास्ववियु वीरगञ्ज महानगर कमिटीका अध्यक्ष आशिफ अहमदले जानकारी दिए ।