वीरगंज । बाम लोकतान्त्रिक गठबन्धनको एक महत्वपूर्ण घटक एकिकृत समाजवादीले हाल सम्म थ्रेस होल्ड कटाउन सकेको छैन् । उसले थ्रेस होल्ड कटाउँन नसकेको खण्डमा राष्ट्रिय पार्टी बन्नबाट बन्चित हुने देखिन्छ । समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेको बताइएको छ भने त्यसमा सदरमतको ३ प्रतिशत मत ल्याउनेको थ्रेस होल्ड कट्छ । यस्तै प्रत्यक्षतर्फ पनि कम्तीमा १ सिट जितेको हुनुपर्छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको पछिल्लो अपडेट अनुसार समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ । १ करोड १२ हजार ४८ मतगणना सकिँदा हाल सम्म नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सकेको छैन। एकीकृत समाजवादी पार्टीले २ लाख ८६ हजार १८९ मतमात्रै पाएको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पर्टी, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेस होल्ड कटाएका छन् । जसअनुसार एमालेले २६ लाख ९७ हजार, कांग्रेसले २५ लाख ५५ हजार, माओवादी केन्द्रले ११ लाख ४१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार, राप्रपाले ५ लाख ७० हजार, जसपाले ३ लाख ९३ हजार र जनमत पार्टीले ३ लाख ५४ हजार मत पाएको आयोगले जनाएको छ ।