वीरगंज । विगत डेढ महिना यता सुरक्षाकर्मीको ध्यान निर्वाचनमा केन्द्रित भएको मौका छोपेर पर्सामा काठ तस्करहरुले जंगलमा रुख फडानी र तस्करीलाई तिब्रता दिएका छन् ।जिल्लामा रहेका राष्ट्रिय वन क्षेत्रमा तस्करहरुले काँचो सालको रुख कटानी गरि काठ जंगल नजिकका चिरान मिल र फर्निचर उधोगमा लगेर बिक्री गरिरहेको स्थानीयले जानकारी दिएका छन् ।
वनबाट तसकरहरुले रुख फडानी गरि काँचो सालको गोलीया काठ साइकल र काँधमा ओसारेर खासगरि जिल्लाको पर्साको उत्तरी भेगमा संचालित अवैध समिल र फर्निचर उधोगमा मध्यरातको समयमा ओसारी रहेको प्रत्यक्षदर्शीहरुले जनकारी दिएका हुन् । बसन्तपुर,हरैया ,भतौडा ,सोनवर्षा ,गदियानी,मधुवन ,मथवल, मानवा,पशुपतिनगर ,छातिवनटाँडी ,बढ्निहार, सबैया,सोलकपुर लगायतको क्षेत्रका जंगलबाट रुख फडानी गरि काठ पकडिया ,तमांग टोल बढनिहार ,पचरुखी ,बहुवार्वा ,एकटाँगा ,डोकैला बहुवारी ,टिकुलिया ,सखुवा प्रसौनी , कौवावन कटैया ,देवउरबाना ,निचुटा ,देवरिया लगायतको क्षेत्रमा संचालनमा रहेको स–ममिल र फर्निचर उधोगमा आपुर्ति भइरहेको हो ।
त्यहाबाट विभिन्न खाले फर्निचर बनाइ कारोबारीहरुले सीमावर्ती भारतीय बजारहरुमा लगेर बेच्ने गरेको स्थानीयले बताएका छन् । डिभिजन वन कार्यालय पर्साका अधिकृत फारमान मिया अन्सारीले सुराकीको कमीले काठ तस्कारी नियन्त्रण गर्ने कठिनाई भएको प्रतिक्रिया दिए । उनले भने ,‘ एक त खुल्ला सीमा छ , अर्को कुरा सुचना पनि कम आउछ , यसले समस्या भएको छ । उनले नेपाल प्रहरी , सशस्त्र प्रहरी , पालिकाका जनप्रतिनिधि र सरोकारवाला सबैको सहयोग भए मात्र काठको तस्करी रोक्न सकिने बताए ।