वीरगंज । पर्साको क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) ले अग्रता लिएको छ । जसपा र नेकपा एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले मतान्तर पनि बढाउँदै लगेका छन् । साढे २ बजेसम्मको मत गणना गर्दा यादवले ७ हजार ७ सय १५ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले ५ हजार ९ सय १२ मत प्राप्त गरेका छन् । द्विवेदीभन्दा यादव १ हजार ८ सय ३ मतान्तरले अगाडि छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किरणमान डंगोलले ७ सय ७८ मत पाउँदा पाँच दलको समर्थन पाएका लक्ष्मणलाल कर्णले ४ सय २१ मत प्राप्त गरेका छन् । चौरसियाले मतान्तर बढाउँदै पर्साको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अजय कुमार चौरसियाले मतान्तर बढाउँदै लगेका छन् । चौरसियाले ८ हजार ९ सय ५ मत प्राप्त गरेका छन् । जसपा र एमाले गठबन्धनका सुरेन्द्र प्रसाद कुर्मीले ६ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् । चौरसियाले कुर्मीलाई २ हजार ५ सय ७० मतले पछाडी छोडेका छन् । कांग्रेस र एमालेको कडा टक्कर
पर्साको क्षेत्र नम्बर ३ मा पनि नेपाली कांग्रेसले अग्रता कायमै गरेको छ । कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीले ४ हजार १९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका राजकुमार गुप्ताले ३ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् । गुप्ताभन्दा चौधरी २७ मतले मात्रै अगाडि छन् । यहाँ यि दुई उम्मेदवारबिच कडा प्रतिस्पर्धा छ । यसअघि गुप्ताले थोरै मतले अग्रता लिएपनि अहिले गुप्तालाई चौधरीले उछिनेका हुन् । रिजालको अग्रता कायमै पर्साको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको अग्रता कायमै छ । हालसम्म भएको मतगणनाअनुसार नेपाली कांग्रेसका रमेश रिजालले ११ हजार २ सय ८४ मत पाएका छन् । नेकपा एमालेका जालिम मियाँ मंसुरीले ९ हजार ६ सय ६२ मत पाएका छन् । मियाँ भन्दा रिजाल १ हजार ६ सय २२ मतले अगाडि छन् । यहाँ रिजालको जित सुनिश्चित जस्तै देखिएको छ । सातौ पटक चुनावी मैदानमा होमिएका रिजालको यो चौथो जित हुनेछ ।