वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभर मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा लगाएको रोकलाई लम्ब्याएको छ ।
मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षलाई मध्यनजर गर्दै आइतबार रातिदेखि लगाएको मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमाथिको रोक लाई स्थानीय प्रशासनले लम्ब्याएको हो ।
शनिबार एउटा सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट निर्वाचन सम्पन्न गर्ने उद्देश्यले निर्वाचनको अगावै मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाएको थियो । जिल्ला प्रशासन कार्यालयले सोही रोकलाई निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि लम्ब्याएको हो ।
“आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि मदिराको ओसार पसार, बिक्री वितरण र सेवनबाट शान्ति सुरक्षामा पर्न सक्ने असरलाई मध्यनजर गरी जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त निर्देशन र जिल्ला सुरक्षा समितिको मिति २०७९ कार्तिक २६ गतेको निर्णयानुसार मिति २०७९ कार्तिक २७ गते राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मदिरा ओसारपसार, वितरण र सेवन गर्न निषेध गरिएकोमा निर्वाचन आयोगको निर्देशन र जिल्ला सुरक्षा समितिको मिति २०७९ मङ्सिर २ गतेको निर्णयानुसार उक्त अवधिलाई निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री बितरण तथा सेवनमा प्रतिबन्ध लगाउन पुन: सूचना जारी गरिएको,” जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
उक्त निर्णयको पूर्ण परिपालना गर्न/गराउन जिल्लाका सबै राजनीतिक दल, उद्योगी, व्यापार व्यवसायी, आमसञ्चार माध्यम र सर्वसाधरणमा अनुरोध गरिएको प्रशासन कार्यालयले जनाएको छ ।